चीनमा धूम्रपानको प्रयोग उच्च, धूम्रपान बिरोधि अभियान सुस्त

धूम्रपानका कारण बार्षिक दश लाख बढीको मृत्यु

नमस्कार शाह

बाओसान, चीन/ चीनमा धुम्रपानको प्रयोग उच्च छ । धूम्रपान गर्ने चिनियाँ प्रचलन देशको मात्र गम्भीर जनस्वास्थ्य समस्या नभई विश्वव्यापी सुर्ती नियन्त्रण अभियानका लागि समेत चुनौती बनेको छ ।

विगत तीन दशकमा चीनको उल्लेखनीय आर्थिक बृद्धिले बिश्वलाई चकित पार्न सफल चीन बढ्दो सुर्तीजन्य उद्योग र धुम्रपानको व्यापक प्रयोगको कारणले बिश्वमा “धूम्रपान ड्र्यागन” देशको रुपमा चिनाउन बाध्य छ । चीनमा धुम्रपान यति प्रचलित छ कि प्रायः जसो चिनियाँहरुको हातमा चुरोट हुन्छ ।

जनवादी गणतन्त्र चीन विश्वको सबैभन्दा ठूलो उपभोक्ता र सुर्ती उत्पादन गर्ने देश हो ।

२०२२ को एक तथ्यांक अनुसार, ३ सय लाख चिनियाँहरु धुम्रपान गर्छन् भने २.४ ट्रिलियन चुरोट प्रत्येक वर्ष यहाँ बेचिन्छ यो विश्वको कुलको ४६ प्रतिशत हो ।

चाइना नेशनल टोबाको कर्पोरेशन विश्वमा तंबाकू उत्पादनको सबैभन्दा ठूलो एकल उत्पादक बिक्री केन्द्र हो । जसको चीनमा एकाधिकार छ । २०२२ मा लगभग २१३ बिलियन युएस राजस्व यसले भुक्तानी गरेको आँकडा छ ।

चिनमा अझै विशेष अवसरमा चुरोट एक, अर्कालाई उपहारको रुपमा दिने चलन छ ।

चीनका ठूला सहर संघाई र बेइजिङमा धूम्रपानको प्रयोग अन्य सहर भन्दा तुलनात्मक रुपमा कम छ भने अन्य सहर र ग्रामीण भेगमा अत्याधिक प्रयोग छ । चुरोटको प्रयोग नगर्ने चिनियाँहरु बिरलै भेटिन्छन् । तुलनात्मक रुपमा बालबालिका र महिलाहरुको धूम्रपान सेवनमा संलग्नता कम छ । चीनका सडक र सार्बजनिक स्थानहरुमा फोहरको नाममा त्यही चुरोटका ठूटाहरु मात्र भेटिन्छन् ।

चीनमा चुरोटलाई केवल आत्म-आनन्दको लागि मात्र नभई आदर, आतिथ्यताका लागि प्रयोग गरेको पाईन्छ । किशोर, युवाहरुले आफुभन्दा ठूला व्यक्तिहरूलाई सम्मान स्वरुप चुरोट उपहार दिने गलत परम्परा रहेको छ ।

अपरिचितहरूलाई समेत चुरोट उपहार दिएर परिचय गर्ने चीनियाँ परमपरा छ । किशोरकिशोरीहरूले धुम्रपानलाई परिपक्वताको संकेतको रूपमा हेर्ने गर्दछन् ।

धुम्रपानले चीनमा वार्षिक १० लाखभन्दा बढीको मृत्यु हुने अनुमान गरिएको छ । पुरुषहरूमा यो महामारी बढ्दै गएको छ।

विभिन्न स्वास्थ्य संगठनसँग जोडिएका ठूला राष्ट्रव्यापी अध्ययनहरूले आवधिक रूपमा धुम्रपानको कारणले हुने मृत्युलाई खतराको संकेत गर्दछ ।

यसरी चीनमा भयावह रुपमा रहेको धूम्रपानको प्रयोग विरुद्ध चीन सरकार अग्रसर रहँदै आएको छ ।

२००६ जनवरी ९ मै धुम्रपान नियन्त्रण सम्बन्धी WHO को फ्रेमवर्क कन्भेन्सनको चीन पक्ष राष्ट्र बनेको छ । जसमा अस्पताल, रेस्टुरेन्ट, बार र सार्वजनिक यातायात सहित २८ सार्वजनिक स्थानहरूमा धुम्रपान पूर्ण रूपमा निषेध गर्ने उल्लेख छ तर कार्यान्वयन पक्ष भने फितलो छ । औपचारिक सार्वजनिक कार्यक्रम बाहेक जताततै सर्वत्र प्रयोग छ धूम्रपानको ।

फेब्रुअरी २०२२ मा चीन सरकारले राष्ट्रिय स्वास्थ्य आयोगको समर्थनमा धुम्रपान र सेकेन्ड ह्यान्ड स्मोकको जोखिमको ज्ञान बढाउनुका साथै धूम्रपानको सक्रिय प्रयोगलाई निरुत्साहित गर्न नयाँ राष्ट्रिय एन्टि-सिगरेट उपहार दिने अभियान सुरु गरेको थियो । त्यस बेला “गिभिङ सिगरेट इज गिभिङ हार्म” भन्ने अभियान सामाजिक सञ्जालमा चलेको थियो ।

चीन सरकारले सुर्ती नियन्त्रणमा स्वस्थ चीन कार्य योजना (२०१९–२०३०) बनाएको छ जसमा १५ वर्षभन्दा माथिका मानिसहरूको धुम्रपान प्रयोग २०३० सम्म पूर्णरूपमा घटाउने रणनीति लिईएको छ ।

सरकारले सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गर्ने अभियान संचालन गरेको छ । सार्वजनिक यातायात र प्रतीक्षा कक्षहरूमा धुम्रपान निषेधसम्बन्धी नियमहरू जारी गरिएको छ । जसमा सार्वजनिक स्थानहरुलाई धूम्रपान निषेधित घोषणा गरिएको छ ।

सुर्ती नियन्त्रणमा WHO फ्रेमवर्क कन्भेन्सनको पक्षराष्ट्रको रुपमा रहेकोचीनमा धुम्रपान विरोधी अभियान सुस्त छ ।

तथापि संस्कारको रुपमा रहेको धूम्रपानबाट हुने महामारीलाई कम गर्ने अभूतपूर्व अवसर छ। जसको लागि मुख्य सरोकारवाला र राजनीतिक प्रतिबद्धताको खाँचो छ।

  • ९ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech