थप एक जनाको शव स्वदेश ल्याइयो

असल शासन प्रतिनिधि

नेपालगन्ज/इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज स्वदेश ल्याइएको छ ।

फ्लाइ दुबईको विमानमार्फत् बिहान ७ बजे नेपाल ल्याइएको शव बझाङको जयपृथ्वी नगरपालिका ६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । १० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन नातेदारको डीएनए सङ्कलन गरी पठाइएको छ ।

यसअघि दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी , दार्चुलाकै लेकम–५ का दीपेशराज विष्ट , कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलालीकै बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल आइसकेको छ । गएको असोज २० गते हमास लडाकु समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । आक्रमणमा परि ज्यान गुमाउनेहरुमध्येमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।

कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी अहिले पनि सम्पर्कविहीन छन् । साथै इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको थियो ।

  • १० कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech