विधुत बक्यौता वापतकाे ८ लाख ७८ हजार २ सय ९२ रुपैया संकलन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता रहेका ग्राहकहरुबाट आइतवार ८ लाख ७८ हजार २ सय ९२ रुपैया संकलन गरेको छ ।

११ लाख ८७ हजार ४ सय ६० रुपैया बक्यौता रहेका १ सय ६३ जनाको लाइन अभियानकै रुपमा विच्छेद गर्दा २१ जनाले आइतबारनै आफ्नो बक्यौता रकम बुझाए। उक्त रकम संकलन गरी रकम तिर्नेहरुको लाइन पुन: जोड्ने प्रकृया अगाडि बढाएकोछ।

६० दिन बक्यौता नतिरेका ग्राहकहरुको लाइन काट्न नेपाल विद्युत प्राधिकरण ले सार्वजनिक सुचना जारी गर्दै अभियानकाे रुपमा बक्यौता असुलीमा छ । टोल टोलमा अडियो सुचना बजादै बक्यौता भुक्तानी गर्न सार्वजनिक अपिल गरेपछि नेपालगन्ज वितरण केन्द्र अन्तरगत लामो समयदेखि महसुल नतिर्ने २० हजार बढी ग्राहकको लाइन आइतबारबाट काट्न अभियान थालिएको केन्द्र प्रमुख जगन्नाथ लामिछानेले जनाएका छन्।

उनले आइतबार मात्रै १ सय ६३ जना ग्राहकको लाइन काटेको जनाउँदै यो अभियान सात दिनसम्म जारी रहने बताए । लाइन काट्न थालेपछि आइतबार बक्यौता रकम बुझाउन धेरै सङ्ख्यामा ग्राहकहरू वितरण केन्द्र पुगेको प्रमुख लामिछानेकाे भनाइ छ ।

२० हजार २३० ग्राहकबाट ३७ करोड ९४ लाख ८७ हजार ६११ रुपियाँ असुल गर्न बाँकी रहेको जनाउँदै २४ करोड रुपियाँ सडक बत्ती र १३ करोड बढी अन्य उपभोक्ताको बाँकी रहेको लामिछानेकाे भनाइ छ।

प्राधिकरणले यसअघि नै एउटा सार्वजनिक सूचना जारीगरी बाँकेका ८ स्थानीय तहलाई पनि सडक विद्युत बापतको बाँकी विद्युत् महसुल तिर्न ताकेता गरेको थियो ।

वितरण केन्द्रका अनुसार बाँकेका ८ स्थानीय तहमध्ये सबैभन्दा बढी बक्यौता नेपालगन्ज उपमहानगरपालिकाको २० करोड रुपियाँ रहेको छ । बाँकी सातवटा पालिकाले सडकबत्ति बापतको ४ करोड रुपियाँ तिर्न बाँकी रहेको छ ।

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech