ट्रकका ट्रक राहत, पीडित भने खाली हात

माधव कार्की

जाजरकोट/आफ्ना घरै अगाडी देखी राहत सामाग्री बोकेका ट्रक हँुईकिन्छन् तर भुकम्प पीडितले पाउँदैनन् राहत ।

गत कार्तिक १७ गते राती जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको बिनासकारी भुकम्पबाट जाजरकोट र रुकुम पश्चिमका अधिकाँस घरहरु ध्वस्त भएपछि प्रभाबित क्षेत्रका स्थानियहरु घर बाहिरनै बस्दै आएका छन् ।

पीडितहरुको नाममा गाडीका गाडी राहत सो क्षेत्रमा गईरहेका छन् तर पीडितले अझैं राहत पाउन सकेका छैनन् । भेरी नगरपालिका १ रावतगाँउमा बस्दै आएकी लक्ष्मी रोकायाले हाल सम्म कुनै प्रकारको राहत नपाएको बताईन् ।

भुकम्प प्रभाबितहरुका लागि बास नेपालले राहत लिएर रुकुम पुर्ब जाँदै गर्दा बाटोकै छेउमा सामान्य बर्षादीले छेकबार गरी बस्दै आएका दुई तिन घरका परिवारहरु दौडदै आएर गाडी रोक्न प्रयास गरे ।

गाडी रोक्न थालेपछि रुकुम पश्चिमका लागि हिडेका बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले उनीहरुलाई सोध्दा वरीपरि रहेका आठ दस घरपरिवार जम्मा भएर गुनासो गर्दै भने –दिनहुँ गाडीका गाडी राहत लिएर यही बाटो गएपनि कसैको मनमा दया पलाउन सकेन, हामीहरुलाई देखे पनि नदेखे झै गरेर दौडिन्छन् जसले गर्दा हामी बिचल्लीमा परेका छौं, घरहरु बस्न लाएक छैनन् । आफैसँग भएका पुराना बर्षादीहरु जम्मा गरेर शीत छल्ने गोठ बनाएका छौं ।

त्यस्तै माथिल्लो थाप्लेमा सानो दुधे बालक र देवरको साथ भाडामा बस्दै आएकी कल्पना केसीले बिनासकारी भुकम्पबाट भाग्यले बाँचन सफल भएको बताउँदै बस्ने घर भत्किएपछि आफु घर न घाटको भएको बताईन् । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका श्रीमान नेपालगञ्जमा काम गर्दै आएका छन् भने दुधे बालकलाई लगाउने कपडा नभएको उनी बताउँछिन् । कपडा खाद्यान्न घर भित्रै पुरिएपछि खान लाउन समेत समस्यामा परेकोे राहत संकलन केन्द्रको नजिकै रहेकी केसीको गुनासो छ । भन्छिन् –धेरै नभएपनि सानो छोरालाई लगाउने न्यानो कपडा मात्र भएपनि हुने थियो ।

एकद्धार प्रणाली अन्तर्गत संकलन गरिएको राहत बिपद ब्यवस्थापन मार्फत गाउँमा जाने प्रक्रियागत ढिलाईले भुकम्प गएको धेरै दिन भईसक्दा समेत पीडितले राहत प्राप्त गर्न नसकेको गुनासो सुनाउछन् भेरी नगरपालिका २ का बिनोद आरसी ।

आरसी भन्छन् –वडामा पन्ध्र सय घरधुरी छन् सबै घर बस्न लायक छैनन् । एकद्धार प्रणाली मार्फत शक्ति र पहुँचमाा भएका भएका वडामा सजिलै राहत पुगे पनि हाम्रो वडामा राहत नपाउँदा पीडामाथि पीडा दिएको छ ।

बिभिन्न सहयोगी दाता तथा संघ संस्थाहरुबाट राहत सामाग्री लिएर जाजरकोट र रुकुम पश्चिममा देशका बिभिन्न जिल्लाहरुबाट त्यहाँ पुगेपनि सम्बन्धित पक्षले राहत नपाएको बताउँछन् । भन्छन् “हामीलाई खाद्यन्न होईन पाल देउ सरकार” ।

  • ४ मंसिर २०८०, सोमबार प्रकाशित

  • Nabintech