स्याउले बजार नपाउँदा ………..

सुन्दर रावत 

हुम्ला/ हुम्लामा उत्पादन भएको स्याउले बजार नपाउँदा स्याउ किसानहरुले गाई, गोरुलाई खुवाउन थालेका छन् । जिल्लामा स्याउको उत्पादन राम्रो हुने गरेपनि बजार पाएको छैन । सदरमुकाम सिमकोटसम्म राष्ट्रिय सडक मार्ग नजोडिएकाले पनि स्याउले बजार नपाएको हो । अहिले गाई, गोरुलाई पिडोको रुपमा स्याउ खुवाउनु परेको सिमकोट गाउँपालिका वडा ७ का किसान कल बहादुर शाहीले बताए ।

‘जिल्लामा स्याउ उत्पादनमा जोड दिने निकाय धेरै भएपनि बजारीकरण गर्ने निकाय नहुँदा यो अवस्था आएको हो । मेरो बारीमा फलदिने स्याउ ७० बोट छन्’ उनले भने, ‘स्याउ वर्षको २० क्वीन्टल उत्पादन हुने भएपनि पाँच क्वीन्टलजति स्याउले मात्र बजार पाउने गरेको छ । बाँकी गाई, गोरु, बाख्रालाई पिडोको रुपमा खुवाउनु परेको छ ।’

जिल्लाका सात वटै गाउँपालिकामा स्याउ उत्पादन हुन्छ । त्यसैमा चार वटा गाउँपालिका सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट राष्ट्रिय सडक मार्गमा जोडिएका छन् । उक्त  चार वटा गाउँपालिकामा उत्पादन भएको स्याउ जिल्ला बाहिर नेपालगन्ज, सुर्खेत जस्ता सहरमा निर्यात हुन्छ, तर तीन वटा खजर्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा उत्पादन भएको स्याउ ८० प्रतिशत गाई, गोरुलाई खुवाउने गरेको सिमकोट गाउँपालिका कृषि शाखाले जनाएको छ । जिल्लामा प्रति किलो स्याउको मूल्य ४० रुपैयाँ निर्धारण गरिएको छ । निर्धारण गरेको मूल्यमा किसानले स्याउ बिक्री नगर्दा पनि स्याउले बजार नपाएको देखिन्छ । जिल्लामा पाउने स्याउको दाना अनुसार बिक्री हुँदै आएको छ ।

सिमकोट गाउँपालिका वडा ६ की किसान राधिका रोकायाका अनुसार प्रति किलो ४० रुपैयाँका दर निर्धारण गरेको मूल्यमा जिल्लाका किसानले असन्तुष्ट जनाउँदै आएका छन् ।

तोकिएको मूल्यमा फाइदा नहुने हुँदा किसानहरुले प्रतिगोटा दश देखि १५ रुपैयाँमा बिक्री गर्दै आएका सिमकोट वडा ४ का किसान जंग शाहीले जनाए । जिल्लामा उत्पादन भएको स्याउ जिल्ला बाहिर निर्यातमा स्याउ जोन कार्यालयले ८५  प्रतिशत  ढुवानी अनुदान  गरेको भएपनि हवाई सेवा नियमित सुचारु नहुनु, भएपनि काग्रो नबोक्ने हुँदा जिल्लाको उत्पादन भएको स्याउ गाई, गोरुलाई खुवाउने गरेको देखिन्छ । गाई, गोरु नहुने किसानको स्याउ भने कुहिएर खेर जाने गरेको छ ।

  • १२ मंसिर २०८०, मंगलवार प्रकाशित

  • Nabintech