धनगढीमा गजल मार्फत भ्रष्टाचारको विरोध

असल शासन प्रतिनिधि

धनगढी/ बास नेपाल कैलाली शाखाले भ्रष्टाचार विरुद्ध गजल वाचन कार्यक्रम गरेको छ ।

संस्थाको २३ औं बार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा धनगढीमा भ्रष्टाचार विरुद्ध गजल वाचन कार्यक्रम गरेको हो ।

बुधबार कैलाली बहुमुखी क्याम्पसमा १० जना बढी गजलकारहरुले भ्रष्टाचार विरुद्ध गजल तथा साहित्यक रचनाहरु वाचन गरेका थिए । उनीहरुले देशमा बढिरहेको भ्रष्टाचार, अनियमितता तथा युवाहरू विदेशिएका पिडाहरु गजल मार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्रष्टाहरु प्रकाश ऐर, हर्क जोशी, कैलाश बोगटी, सिद्ध समर्पण, अबि प्यारे, मनोज मनसुन लगायतका गजलकारहरुले भ्रष्टाचार विरुद्ध गजलहरु वाचन गरेका थिए ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पसका सहायक प्रमुख ठाकुर प्रसाद ढुङ्गेलले भ्रष्टाचार विरुद्धको रचनात्मक अभियानको प्रसंसा गरे । उनले यस्ता अभियानहरुले राज्य संयन्त्र र जिम्मेवारी निकायहरुलाई खबरदारी गर्ने बताए । उनले देशमा नागरिकहरुमा निराशा बढ्दै गएको भन्दै युवाहरूले आशा जगाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा बास कैलाली शाखा अध्यक्ष चिरञ्जीवी छेडालले बास नेपालले भ्रष्टाचार विरुद्ध देशव्यापी रुपमा विगत २३ बर्षदेखी विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । उनले सुशासन, जवाफदेहिता, युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर खबरदारी कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रम सञ्चालन बास कैलाली शाखा सचिव मेनका सिंहले गरेकी थिइन् भने कार्यक्रममा झण्डै ५० जना बढी युवाहरूको सहभागीता रहेको थियो ।

बास नेपालले सप्ताहव्यापी रुपमा देशभर विभिन्न कार्यक्रम गरी आफ्नो २३ औं बार्षिकोत्सव मनाइरहेको छ ।

  • २० मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech