कराडौं लागतको शौचालय प्रयोगमा नआउदै भत्काईयो

असल शासन प्रतिनिधि

नेपालगन्ज । करोडौ लागतमा निर्माण भएको डिजिटल शौचालय प्रयोगमा नै नल्याएर भत्काईएको छ ।
नेदरल्यान्ड्स विकास कोषको ४६ लाख ३६ हजार रुपैयाँमा चार वर्षअघि नेपालगन्जको धम्बोझीचोकमा बनेको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काउन थालिएकोछ । डिजिटल शौचालय भत्काएर अब सामान्य शौचालय बनाउन लागिएको नेपालगन्ज उपमहानगरपालिका ले जनाएको छ ।
‘नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले प्रविधिको शौचालय प्रयोगमा जटिलता उत्पन्न भएका कारण त्यसलाई भत्काएर सामान्य बनाउन लागिएको बताएका छन् । शौचालयमा डिजिटल प्रविधि जडान गरिए पनि लामो समय सञ्चालन नहुँदा सामानमा खिया लागेर सञ्चालनमा नै नआई जिर्ण बनेको थियो । यसरी जीर्ण अवस्थाको शौचालय खण्डहर जस्तो भएपछि आम नागरिकहरुबाट निरन्तर बिरोध आउदै गरेको थियो ।
२०७६ माघ ६ गते स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रुपैयाँ लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो । भत्काइएको डिजिटल शौचालय आफ्नो फरक विशेषताका कारण चर्चामा थियो । जमिनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियो भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिने गरी तयार गरिएको थियो। सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्ने गरी बनाइएको थियो ।
पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने बनाइएको थियो । शौचालय प्रयोगमा आए नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्यो । शौच गर्दा स्वचालित रूपमा संगीत बज्ने र जो–कोहीले संगीत सुन्दै शौच गर्न भनिएको थियो । शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन थियो, जुन स्वचालित थियो । शौच गर्न गएको व्यक्तिले साबुन संकेत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झथ्र्यो, सँगै रहेको पानी संकेत देखाएको तल हात लाग्दा पानी झर्ने विशेषताको थियो । नयाँ प्रविधि जडान गरिएको शौचालय मंगलबार भत्काईएको छ ।

  • २७ मंसिर २०८०, बुधबार प्रकाशित

  • Nabintech