नेपालगञ्ज बजारैमा

कन्हैया सिंह परियार

नेपालगञ्ज बजारैमा मेरो लागी जीवनको पहिलो परिचयात्मक गीत र पहिलो गीती एल्बम पनि थियो, यहि गीतले मलाई एउटा राष्ट्रिय गायकको रुपमा स्थापित गरायो र त्यतिबेला रेडियो,टेलिभिजनहरु र पत्रपत्रिकाहरुमा यस गीतले ब्यापक स्थान पाएको थियो ।

बिस बर्ष अघि म सांगीतिक रुपमा गीत संगीतको व्यवसायिक संघर्षका लागि काठमाडौँमा तल्लिन थिए र २०५५ सालमा रेडियो नेपालको आधुनिक गायन तर्फको स्वर परीक्षा उत्तिर्ण गरी सकेपछि सांगीतिक एल्बमको तयारीमा थिएँ ।

आफ्नो मध्य पश्चिम क्षेत्रको सुगन्धलाई समाबेश गरी पहिलो सांगितिक कोसेली नेपाली संगीत बजारमा समर्पण गरौँ भनेर सोचिरहेको थिएँ । यो सोचाई बिकास हुनुमा मेरो परिवारको भूमिका ठूलो थियो । मेरो माईलो दाजु, गायक, संगीतकार सुरेश सिंह परियारले मलाई गितार बजाउन र गीत गाउन प्रारम्भिक शिक्षा दिनु भएको हो । बाजे कल्लु सिंह परियार राम्रो बाँसुरीबादक र तासा बादक हुनुहुन्थ्यो, ठुलो दाजु दुर्गे सिंह परियार बलिउडको म्युजिक स्टुडियोहरुमा ट्रम्पेड बजाउनु हुन्थ्यो र प्रेम प्रकाश मल्ल र महेन्द्र हमाल बुवाहरुको गीतहरु सुनेर हुर्के बढेको थिएँ, उहाँहरु सबैको प्रभाव मेरो जीवनमा परि रहेको थियो ।

यहि शिलशिलामा नेपालगञ्ज घरमा आउँदा मेरो बचपनको साथि र मलाई गीत संगीतमा सधैं हौंसाउने भैया (नरेन्द्र थापा) लाई मैले यो कुरा सुनाएँ भैया म गीति एल्बम निकाल्ने सोंचमा छु । आफ्नो क्षेत्रको माटोलाई एल्वममा समेट्न चाहन्छु र उसले पनि मलाई खुसी हुँदै भन्यो —यो त धेरै राम्रो कुरा हो किन भने ईलामको गीत छ, ओखलढुंगा, जोमसोम र पोखरा लगायतका ठाउँहरुको गीतहरु छन् । हाम्रो नेपालगञ्जको किन नहुने ? हुन्छ गाउनु पर्छ भनेर उसले मलाई हौंसायो र मैले तत्कालिन मध्य पश्चिम क्षेत्रमा आफै प्रत्यक्ष घुमेको प्रमुख स्थलहरुलाई शब्दमा कोरेँ र संगीत भरेर आफ्नो स्वरमा रेकर्ड गराए नेपालगञ्ज बजारैमा । २०५७ साल बैशाखमा गीती एल्बमको बजारमा ल्याएँ । उक्त एल्बमलाई नेपालगञ्ज नगरपालिकाका मेयर धवल शमशेर राणाको सभापतित्वमा अग्रज गायकद्वय स्वर्गीय प्रेमप्रकाश मल्ल र महेन्द्र हमालले बिमोचन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन पत्रकार नरेन्द्र जंग पिटरले गर्नु भएको थियो ।

अडियो एल्बम बजारमा ल्याई सकेपछि गीतको छायांकनको लागि मेयर धवल शम्सेर राणा र कोहलपुर टेलिभिजनबाट ठुलो सहयोग प्राप्त भएको थियो । नेपालगञ्जका नाममा गाईएको सम्भवतः हाल सम्मकै एक मात्र गित नेपालगञ्ज बजारैमा हो । गीतको भावले रानी तलाउको सुन्दरता, सामाजिक सद्भाव र मध्यपश्चिम क्षेत्रको मुटु नेपालगञ्जको समग्र विकासलाई समेटेको छ ।

पूर्ण गीत यस प्रकार छ :
नेपालगञ्ज बजारैमा घाम लाग्यो घमाईलो
ऐतिहासिक नगरी माँ बागेश्वरी नेपालीलाई यो ठाउँ रमाईलो
नेपालगञ्ज बजारैमा…
पाँच वटा जिल्ला मिलि बन्यो भेरी अञ्चल
त्यो ठाउँमा घुम्न जाँदा मन् हुन्छ चंचल
सुर्खेत बुलबुल ताल कर्णालीको पुल
बर्दियाको निकुञ्जमा मन् हुन्छ चुलबुल
जाजरकोटको खलंगा दैलेखको दुल्लु
बाँके जिल्ला नेपालगंज लाग्छ डुलु डुलु
नेपालगञ्ज बजारैमा…
महेन्द्र पार्कमा फुल फुल्यो हजार
रानी तलाउमा डुंगा चढ्ने रहर
रिक्सा चढि सरर बजार एयरपोर्ट घुमौंला
टाँगा चढि छिमेकि राष्ट्र पुगी फर्कौंला
अनेकतामा एकता यहाँको बिशेषता
हिन्दु मुश्लिम सिख ईशाई आपसमा छ एकता
नेपालगञ्ज बजारैमा…

जय जन्मभूमि, जय मातृभूमि, जय नेपालगञ्ज

– घरबारी टोल, नेपालगंज, बाँके
हाल बाल्टिमोर अमेरिका

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech