मानसिक स्वास्थ्य प्रबर्धन परियोजना प्रभावकारी

असल शासन प्रतिनिधि

सल्यान/ मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना प्रभावकारी रहेको बताईएको छ ।

फेल्म–नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सी.एम.सी.–नेपाल) द्वारा सल्यानको छत्रेश्वरी गाऊँपालिकामा सञ्चालित प्रबद्र्धन परियोजनाको सामाजिक परीक्षणका सरोकारवालाहरुले उक्त परियोजना प्रभावकारी रहेकोे बताएका हुन् ।

२०२३ मार्च देखि सञ्चालित उक्त परियोजनाले मानसिक समस्याका बिरामीहरुलाई प्रत्यक्ष लाभ पुर्याएको सरोकारवालाहरुको भनाई रहेको थियो ।

कार्यक्रमका प्रमुख सरोकारवाला गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले परियोजना प्रभावकारी रहनुका साथै परियोजनाका कारण आत्महत्या न्यूनीकरण भएको बताए । परियोजनाको अपनत्व पालिकाले लिएको बताउँदै उनले परियोजनाले उठान गरेका बिषयहरुलाई पालिकाले आन्तरिकरण गर्ने बताए ।

उनले परियोजना हाल दुई वटा वडामा मात्रै लागु भएको उल्लेख गर्दै सम्भव भए बाँकी सबै वडा, नभए साविकका ४ गाविसहरुमा केन्दै पर्ने गरि परियोजना सञ्चालन गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले परियोजनाले मानसिक स्वास्थ्य बारे व्यापक सचेतना बढाएको बताईन्  पालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरु प्रसाद योगीले परियोजना उपलब्धिमुलक भएको बताए ।

वडा नम्वर ५ का वडाध्यक्ष फौद्ध बहादुर बस्नेतले मानसिक समस्याका कारण कोही, कसैले आत्महत्या गर्नु नपरोस् भन्ने नीति पालिका, वडाको रहेको उल्लेख गर्दै उक्त नीति कार्यान्वयनमा परियोजनाले सहयोग गरेको बताए ।

अप्रवासी कामदार, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिका, युवा, किशोरकिशोरी तथा पछाडि परेका वर्गलाई विना भेदभाव प्रत्यक्ष लाभ पुग्ने कार्यमा सहयोग प्रदान गर्ने उद्धेश्यले सञ्चालित परियोजना अन्र्तगत सिएमसिले आत्महत्या रोकथाम बारे सचेतना जगाउने, मानसिक रोगका बिरामीहरुको पहिचान गर्ने, परामर्श सेवा दिने र उपचार गर्न सहयोग गर्ने कार्य उक्त संस्थाले गर्दै आएको छ ।

संस्थाको सहजिकरणमा सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडानम्वर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट १०३ जना र भोटेचौर छायाँक्षेत्र स्वास्थ्य चौकीबाट ५६ जनाले गरि गरि १५९ जना मानसिक रोगका बिरामीहरुले औषधि लिईरहका छन् । स्वास्थ्यकर्मीहरुलाई तालिम, आयआर्जनामा सहयोग, साईकेटिक डाक्टरको उपस्थितीमा स्वास्थ्य सेवा दिईरहेको उक्त संस्थाले मानसिक स्वास्थ्य स्वावलम्वन समूह गठन, परिचालन गर्नुका साथै बैदशिक रोजगारमा गएका परिवारका सदस्यहरुको संलग्नतामा सहयोगी समूह गठन, परिचालन गरि समाजमा बिद्यमान लान्छना, बिभेद बिरुद्ध जनचेतना जगाउने काम गरिरहेको छ ।

कार्यक्रमकी सहभागि प्रगतिशिल मानसिक स्वास्थ्य स्वावलम्वन समूह छत्रेश्वरी ६ सांगारमुलकी अध्यक्ष भुमा बि.क.ले संस्थाको परामर्श सेवा पछि आफ्नो गाउँका धेरै पुरुष, महिलाहरुकोे समस्या समाधान भएको बताईन् ।

अर्की सहभागि आमा समूह, लान्तिकी अध्यक्ष सहभागि कालिका योगीले संस्थाबाट प्राप्त परामर्श सेवा पश्चात मानसिक बिरामीहरु लजाउन छाड्नुका साथै पीडितले प्रत्यक्ष लाभ पाईरहेको बताईन् ।

माध्यामिक बिद्यालय भोटेचौरकी शिक्षिका रमा रेग्मीले मानसिक समस्या बारे बिद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने सुझाव दिईन् ।
सिएमसिकी गिता पहाडीले सञ्चालन गरेको कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणको प्रतिबेदन प्रश्तुत गरेका थिए भने सिएमसि नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्नुका साथै परियोजनाको उद्धेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, सेवाग्राहीहरुको उपस्थिती रहेको थियो ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech