मानसिक स्वास्थ्यको बिषय स्थानीय सरकारको प्राथमिकतामा

असल शासन प्रतिनिधि

सल्यान/ मानसिक स्वास्थ्यको बिषयलाई स्थानीय सरकारहरुले प्राथमिकतामा राख्न थालेका छन् ।

मानसिक स्वास्थ्यसँग सम्बन्धित सवालहरु व्यापक रुपमा उठ्नुका साथै यो समस्या हरेक पालिकाहरुमा बिकराल रुपमा देखिन थालेपछि मानसिक स्वास्थ्य बिषयक स्थानीय सरकारहरुको प्राथमिकताको बिषय बन्न थालेको हो ।

फेल्म–नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र –नेपाल (सी.एम.सी.–नेपाल) ले  आप्रावासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना सल्यान जिल्लाका छत्रेश्वरी गाऊँपालिका, शारदा नगरपालिका, बनगाडकुपिन्डे नगरपालिका र बागचौर नगरपालिकामा सञ्चालन गरिरहेको छ ।

२०२३ मार्च देखि यो परियोजना लागु भएपछि यस बिषयले व्यापकता पाएको छ भने मानसिक समस्याका बिरामीहरु खुल्न थालेका छन् । उनीहरुलाई परियोजना मार्फत मनोपरामर्श सेवा प्रदान गर्नुका साथै औषधोपचारमा सहयोग पुर्याउँदा धेरैले समस्याबाट मुक्ति पाएका छन् ।

आप्रावासी कामदार, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिका, युवा, किशोरकिशोरी तथा पछाडि परेका वर्गलाई विना भेदभाव प्रत्यक्ष लाभ पुग्ने कार्यमा सहयोग प्रदान गर्ने उद्धेश्यले सञ्चालित परियोजना अन्र्तगत सिएमसिले आत्महत्या रोकथाम बारे सचेतना जगाउने, मानसिक रोगका बिरामीहरुको पहिचान गर्ने, परामर्श सेवा दिने र उपचार गर्न सहयोग गर्ने कार्य उक्त संस्थाले गर्दै आएको छ ।

संस्थाको सहजिकरणमा सल्यानको छत्रेश्वरी गाउँपालिकाको वडानम्वर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट १०३ जना र भोटेचौर छायाँक्षेत्र स्वास्थ्य चौकीबाट ५६ जनाले गरि गरि १५९ जना मानसिक रोगका बिरामीहरुले औषधि लिईरहका छन् । स्वास्थ्यकर्मीहरुलाई तालिम, आयआर्जनामा सहयोग, साईकेटिक डाक्टरको उपस्थितीमा स्वास्थ्य सेवा दिईरहेको उक्त संस्थाले मानसिक स्वास्थ्य स्वावलम्वन समूह गठन, परिचालन गर्नुका साथै बैदशिक रोजगारमा गएका परिवारका सदस्यहरुको संलग्नतामा सहयोगी समूह गठन, परिचालन गरि समाजमा बिद्यमान लान्छना, बिभेद बिरुद्ध जनचेतना जगाउने काम गरिरहेको छ ।

परियोजनाको प्रभावकारिता, मानसिक बिरामीहरुको पहिचान, परामर्श, उपचार पश्चात सुधार भएका बिरामीहरुको बढ्दो संख्याका कारण पालिकाहरुले मानसिक स्वास्थ्य बिषयलाई प्राथमिकतामा राखेका छन् । पालिकाहरुले सिएमसिद्वारा सञ्चालित परियोजनामा साझेदारी गर्नुका साथै पालिकाबाट बजेट बिनियोजन गर्न शुरु गरेका छन् ।

छत्रेश्वरी गाउँपालिकाले गत आ.ब. मा ८ लाख रकम बिनियोजन गरेर मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्यो भने यस बर्ष पनि ८ लाख रकम बिनियोजन गरेको छ । यसैगरी पालिकाले प्रगतीशिल मानसिक स्वास्थ्य स्वावलम्बन समूहलाई एक लाख पचास हजार रकम आयआर्जनका लागि सहयोग गरिसकेको छ ।

गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी मानसिक स्वास्थ्य बिषय बारे पालिका गम्भिर रहेको बताउँछन् । उनले मानसिक स्वास्थ्य प्रबद्र्धनका लागि पालिकाले बजेट बिनियोजन गरिरहेको बताए । उनले पालिकाबाट यसै बर्ष देखि बिद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्ने बताए । उनले पालिकाबाट मानसिक स्वास्थ्य नीति पारित गरेको जानकारी दिए ।

सिएमसि नेपालकी गिता पहाडी परियोजना सञ्चालन पश्चात मानसिक समस्या भएका ब्यक्तिहरु खुलेर समस्या बताउन थालेको बताउँछिन् । हरेक वर्ष मानसिक समस्या बढ्दो क्रममा रहेको अवस्थामा सेवा परामर्श सेवा सुचारु हुँदा पीडितले प्रत्यक्ष लाभ पाइ समस्या न्युनिकरणमा सहयोग पुगेको उनको भनाई रहेको छ ।

मानसिक समस्या उपचारपछि निको हुने कुरामा स्थानीयहरु आशावादी रहेको पहाडीको भनाई छ ।

 

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech