मुटुको सुरक्षाका लागि सावधानी उत्तम विकल्प

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले मुटु रोगबाट जोगिन सावधानी नै उत्तम विकल्प भएको बताएका छन् ।

दैनिक नेपालगन्जले आफ्ना सहकर्मी पत्रकार ऋषिराज गैरेको हृदयघातबाट निधन भएको ४५ औं दिन पुण्यथितिको सन्दर्भमा आयोजना गरेको मुटु सुरक्षा कसरी ? विषयक स्वस्थ्य प्रशिक्षण कार्यक्रममा डा. नेपालले मुटु रोग लाग्न नदिन अपनाउनु पर्ने जीवनशैली, लागि सकेपछि मुटुको हेरचाह र वर्तमान समयमा जीवनशैलीले मुटुमा पारेको असरबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा डा. नेपालले शरीरका प्रत्येक अंगको डिमाण्ड र सप्लाई हुने गरेको त्यो असन्तुलित हुँदा अंगहरुले कुनै न कुनै लक्षण देखाउने गरेको बताए । उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाई सरेर घाँडी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज, मुटुको धडकन छिटो चल्ने, दौडदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए । मुटुरोग लाग्ने वित्तिकै हार्ट अट्याक नहुने भन्दै डा. नेपालले मुटुरोग सम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनु पर्ने बताए । ‘लक्षण देखिने वित्तिकै उपचार सुरु गर्ने हो बिरामी बचाउन सकिन्छ, तर ढिलो गरी अस्पताल पुगे पनि बिरामीको ज्यान जाने गरेको छ’, डा. नेपालले भने ।

उच्च रक्तचाप, सुगर, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको बताए । डा. नेपालले पहिले ५० बर्षमाथि उमेर समूहका लागि मात्रै हार्टअट्याक हुन्छ भन्ने मान्यता रहेपनि अहिले युवाहरुमा समेत मुटुको समस्या देखिने गरेको बताए । ‘हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ’, उनले भने ।

डा. नेपालले मुटुरोग लाग्न नदिन रातो मासु, बोसोयुक्त खाना खान नहुने, शुद्ध खानेतेलको प्रयोग गर्नुपर्ने, नियमित व्यायाम गर्नुपर्ने बताए । तर, मुटुरोग लागिसकेको अवस्थामा चिकित्सिकको सल्लाह बमोजिम नै जीवनशैली अपनाउन आवश्यक छ ।
कार्यक्रममा सहभागी पत्रकारहरुले मुटुरोग सम्बन्धमा राखेको जिज्ञासाको जवाफ डा. नेपालले दिएका थिए ।

दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले स्वागतसहित आयोजनाको प्रकाश पारेको कार्यक्रम सञ्चालन, सहजीकरण स्वास्थ्यकर्मी जीवन शर्माले गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुको प्रेसर तथा तौल परीक्षण पनि गरिएको थियो ।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech