कर्णाली करिडोरमा एक कामद्वारकाे मृत्यु 

सुन्दर रावत

सिमकोट, हुम्ला/ हुम्लाको मध्य क्षेत्र रहेको सर्केगाड गाउँपालिका वडा नम्वर २ स्थित ल्याप्चेको सडक निर्माण गर्ने क्रममा मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्वर ५ सोरुकोट धुपीका अन्दाजी ४९ वर्षीय मनसिङ बुढोको मृत्यु भएको छ ।
सोमबार दिउसो साढे १२ वजेको समयमा ल्याप्चे सडक खण्डको कडा चट्टानी निर्माण गर्ने क्रममा बुढाको करीव ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजन प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार भिरबाट खसेर गम्भिर घाइते भएको भन्दै सोही सडकमा काम गर्ने कामदारहरुले स्वास्थ्य संस्थामा उपचारका लागि लैजाने क्रममा आजै विच बाटोमा मृत्यु भएको छ । उक्त शवको पोस्टमार्टमका लागि सोमबार दिउसोबाटै पहलकदमी हुनुका साथै जिल्ला अस्पतालबाट एक जना चिकित्सकलाई सिम्रिक एयरको हेलिकप्टरबाट पठाउने तयारी भई रहेको प्रहरी निरिक्षक भट्टराईको भनाई छ ।
उक्त क्षेत्रमा यस अघि पनि एक जना कामदारको भिरबाट खसेर घटना स्थलमै मृत्यु भएको थियो । ल्याप्चेमा यो पटक गरेर दुईजना कामदारले अकालमै ज्यान गुमाई सकेका छन् । उनिहरु दुवै जना मुगु जिल्लाका बासिन्दा रहेका छन् ।

  • ११ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech