नेपालगञ्जमा फोहोर फाल्नेलाई कार्वाही शुरु

नन्दादेवीलाई १० हजार जरिवाना

असल शासन प्रतिनिधि

नेपालगन्ज, पुस ११/ नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कार्वाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका औषधि (फोहोर) फालेको भेटिएपछि नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फार्मेसी अधिकृत डा. अस्मित आचार्यले बताउनुभयो ।

सडकमा जथाभावी औषधिजन्य फोहोर फालेको कम्प्लेनपछि जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र नगर प्रहरी, औषधि व्यवस्था विभाग तथा बाणिज्य कार्यालयको संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो ।

सडकमा जथाभावी फोहोर फालेको नन्दादेवी कन्सर्नलाई १० हजार जरिवानासंगै तीन घण्टाभित्र फोहोर उठाउन निर्देशन दिइएको आचार्यले जानकारी दिनुभयो ।

नेपालगन्जलाई सफा, स्वच्छ र सुन्दर सहर बनाउन ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाले ५ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।

फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार जरिवाना गरिनेछ । नगरलाई सफा राख्न दैनिक फोहोर संकलन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई अब जरिवाना नै तिराउने नीति लिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

  • ११ पुष २०८०, बुधबार प्रकाशित

  • Nabintech