कारकांदो दुर्घटनाका दोषी बिरुद्ध जाहेरी दर्ता

दुईको निधन, एक सख्त घाईते

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज–१८ कारकांदो स्थित सिक्टा कार्यालय नजिकै सुर्खेत रोडको किनारामा भएको सडक दुर्घटनाका बिषयमा जाहेरी दर्ता भएको छ ।

दुर्घटनामा परि मृत्यु भएकी नेपालगञ्जकी २४ बर्षिय आस्था शाह र घाईते शहनान शाहका आफन्तले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका हुन् ।

शाहका आफन्ता धर्मजँग शाहले पैदल हिंडिरहेका व्यक्तिहरुलाई ठक्कर दिने सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियोका धनि लम्किचुहा १ कैलालीका रामराज जैशी बिरुद्ध जाहेरी दर्ता गराएका छन् ।

जाहेरी पौष १६ गते दर्ता भएको छ ।

नेपालगञ्ज–१८ कारकांदो सिक्टा कार्यालय नजिकै सुर्खेत रोडको किनारामा भएको सडक दुर्घटनामा २४ बर्षिय आस्था शाहको निधन भएको थियो भने आस्थासँगै रहेकि शहनाज शाह सख्त घाईते भएकि थिईन् । आस्थासँगै सिद्धार्थ होटल नेपालगञ्जमा कार्यरत मायाराम चौधरीको निधन भएको थियो ।

नयाँ बर्षको कार्यक्रम पछी घर तर्फ फर्किने क्रममा स्कारिपियोले ठक्कर दिएको थियो ।

दर्ता गरिएको जाहेरीमा शाहले आफ्नो भान्जीको छोरी नातिनी आस्था शाह अध्ययनको शिलशिलामा नेपालगञ्ज १८ स्थित सिप बिकास तालिम केन्द्र नजिक डेरा कोठा लिई बस्दै आएको, पौष १५ गते साँझ आस्था र नेपालगञ्ज ४ गणेशपुर बस्ने भान्जी सहनाज शाह नयाँ बर्षको कार्यक्रम हेर्न सिद्धार्थ भ्यु होटलमा गई राती कोठा फर्कने क्रममा सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियो गाडी चालकले मादक पदार्थ सेवन गरि गाडी चलाएका कारण गाडी अनियन्त्रित हुन गई ठक्कर दिएको उल्लेख गरेका छन् ।

उनले जाहेरीमा घटना घटिसकेपछि स्थानीयले घाईतेहरुलाई नेपालगञ्ज मेडिकल कलेज पुर्याएको उल्लेख गर्दै शाहले आफुलाई घटनाका बारेमा जानकारी भएपछि अस्पताल पुग्दा भान्जि नातिनी आस्था मृत अवस्थामा र भान्जि सहनाज सख्त घाईते अवस्थामा भेटाएको उल्लेख गरेका छन् ।

सहनाजको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको टाउकोमा १७ वटा टाँका लगाईएको छ ।

शाहले यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (१) बमोजिम कार्वाहीको माग गरेका छन् । प्रहरीले रामराजलाई नियन्त्रणमा लिईसकेको छ ।

श्रोतका अनुसार, रामराजले गाडी चलाईरहेका थिए भने उनको चालक र २, ३ जना युवतीहरु सो गाडीमा रहेका थिए ।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech