‘अस्फाल्ट पीचका लागि दुई सडक शिलान्यास’

असल शासन प्रतिनिधि

नेपालगञ्जका फुटाहा सडक र पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका छन् । नेपालगञ्ज १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने ५५० मिटर लामो र ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएका हुन् । यी दुबै सडक स्तरोन्नति कार्यको बुधबार  नगर नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् ।

फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा असार १५ गतेभित्रसम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिए । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, वडा सदस्य रामसहावन बर्मा, वडा सचिव तेजेन्द्र रोकाय, इन्जिनियर चन्दन राज दास लगायतको उपस्थिति रहेको थियो ।

नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङ ल्हामु मार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक कनोजिया, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, सब इन्जिनियर पवन बुढालगायतको उपस्थिति थियो ।

अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताए। विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

 

  • १० माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech