गौरीगङ्गामा सार्वजनिक सुनुवाइ

असल शासन प्रतिनिधि

धनगढी/ कैलालीको गौरीगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाले आव २०८०÷८१ मा ७२ करोड ३१ लाख १३ हजार ४०० अनुमानित बजेट ल्याएको थियो । यसमा चालु ६ महिनामा कुल बजेटको ३०.५० प्रतिशत खर्च भएको छ । चालुतर्फ ४०.०३ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ११.३६ प्रतिशत खर्च भएको सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।

सवाल जवाफमा स्थानियहरुले नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा तथा विकास निमार्ण बिषयक प्रश्नहरु राखेका थिए । पालिकाले सडक लाइट व्यवस्थापन गर्नुपर्ने, चिसो मौसममा दाउरा व्यवस्थापन गनुपर्ने, पुल तथा कल्वर्डहरु निमार्णका सवालहरु सार्वजनिक सुनुवाइमा उठेका थिए ।

यस्तै नगरपालिकाले बजार व्यवस्थापन, छाडा चौपायको उचित व्यवस्थापन, सेवा प्रभावमा चुस्तदुरुस्तता, सहकारी तथा लघुबित्तहरुका भईरहेको ठगीको नियमनका प्रश्न तथा सुझावहरु आएका थिए ।

सार्वजनिक सुनुवाइमा उठेका सवालको जवाफ नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष तथा बिषयगत शाखा प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा नगरप्रमुख देविदत्त कडेलले सुनुवाइमा उठेका सवालको जवाफ दिदै पालिकाको चौतर्फी विकासको लागि आफुहरु निरन्तर लागिरहेको बताए । उनले आफु निर्वाचित भईसकेपछि गौरीगंगा नगरपालिका जिल्लामै उत्कृष्ट नगरपालिका भएको बताए । उनले स्थानिय स्व मुल्याङ्कनमा ८८.५० प्रतिशत नम्बर ल्याएर जिल्लामै उत्कृष्ट नगरपालिका भएको बताए । स्वास्थ्य सेवा प्रवाहमा कैलाली जिल्लाकै उत्कृष्ट पालिका छनौट भएको उनले बताए ।

सार्वजनिक सुनुवाइमा नगर उप प्रमुख भोजबहादुर बमले स्वागत मन्तव्य सहित नगरपालिकाको सेवा र सुविधा बिषयक धारणा राखेका थिए ।

यस्तै कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले उद्देश्य माथि प्रकाश पार्दै पालिको सार्वजनिक सुनुवाइको लागि गरिएको सर्वक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमबाट ६ बुदे सार्वजनिक साझा प्रतिबद्धता घोषणा समेत गरिएको छ ।

बास नेपालको सहजिकरणमा सञ्चालन भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सञ्चालन बास नेपालका रबिन्द्र बोहराले गरेका थिए । कार्यक्रममा झण्डै तीन सय बढीको सहभागिता रहेको थियो ।

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech