वडा अध्यक्ष गरिबेले हाने मुक्का

पालिका ठप्प

असल शासन प्रतिनिधि

नेपालगञ्ज / खजुरा गाउँपालिकामा कर्मचारीलाई सुरक्षित वातावरणको प्रत्याभूति नहुँदासम्म कार्यस्थलमा नफर्किने कर्मचारीहरुले बताएका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गरिबे शेषले कर्मचारीमाथि मुक्का प्रहार गरेपछि कर्मचारीहरुले पालिकाको कामकाज ठप्प पारेका हुन् ।

आज एक विज्ञप्ति निकालेर उनीहरुले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् । वडा नम्बर ६ मा रहेको भानु मावि उढरापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका शेषले गाउँपालिकाका असिस्टेन्ट सव इन्जिनियर लिलाराज धामीलाई बुधबार मुक्का प्रहार गरेका थिए । उनले विद्यालयमा सञ्चालित माटो पटान योजनाको कार्यसम्पन्न प्रतिवेदनका लागि प्राविधिक नापजाँच गर्न गएका धामीलाई नाप जाँच नगरी प्रतिवेदन बनाउन नमानेको भन्दै मुक्का प्रहार गरेका गाउँपालिकाका कर्मचारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा वडाध्यक्ष शेषबाट कर्मचारीहरुले कार्यस्थलमा खटिइ काम गर्दा पटकपटक असुरक्षित र अमर्यादित व्यवहार भोग्नुपरेको पनि उल्लेख गरिएको छ । कर्मचारीमाथि हातपात गर्ने अध्यक्ष शेषलाई कानुबमोजिम हदैसम्मको कारबाही गर्न पनि कर्मचारीहरुले माग गरेका छन् ।

  • २४ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech