पहिलो लेस्बियन बिबाह दर्ता 

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बर्दियाको महिला समलिङ्गीको विवाह दर्ता भएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर २ मा सो बिबाह दर्ता भएको हो ।
कानुन बनेपछि नेपालमा समलिङ्गीको विवाह दर्ता दोस्रो र लेस्बियन जोडीको विवाह दर्ता भएको यो पहिलो हो ।
सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर पाँच वर्षदेखि सम्बन्धमा रहेका बढैयाताल–२ की ३३ वर्षीया अन्जुदेवी श्रेष्ठ र तनहुँको बन्दीपुर गाउँपालिका–५ की ३३ वर्षीया सुप्रिता गुरुङलाई आइतबार गाउँपालिकाले विवाह दर्ताको प्रमाण पत्र दिएको हो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगन्ज र मायाको पहिचान नेपाल काठमाडौंले दक्षिण एशियामा नै पहिलो पटक लेस्बियन जोडीको विवाह दर्ता भएको दाबी गरेको छ ।

मुलुकी देवानी संहिता २०७४ ले व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने हक सुनिस्चित गरेको छ ।

असार २१ मा सर्वोच्च अदालतले यौनिक तथा लैंगिक पहिचानसहित नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्ने आदेस गरेको थियो ।

सर्वोच्चले प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता रहेको र कानुनको दृष्टिमा सबै नागरिक समान हुने व्यवस्था भएकाले विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नु/गराउनू भनी अन्तरिम आदेश दिएको थियो ।

वडा सचिव दीपक नेपालीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्राविधिक शाखाबाट प्राप्त रायका आधारमा विवाह दर्ता गरिएको बताए ।

उनका अनुसार अदालतको फैसला बमोजिम उनीहरुलाई दिइएको बिबाह दर्तामा अस्थाई लेखिएको छ ।

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको अधिकारको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको एवं पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्त लगायत बिबाह दर्ताका लागि बर्दिया आएका थिए । अन्जु र सुप्रितालाई दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिंगी) जोडी भएको बताए ।

दीप्ति र सुप्रिताले विवाह दर्ताका लागि लामो समयदेखि प्रयासरत थिए । उनीहरुले विवाह दर्ताका लागि ४ माघमा वडा कार्यालयमा निवेदन दिएका थिए ।

बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागको राय अनुसार बिबाह दर्ता गरिएको बताए ।

यसअघि लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो पटक माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech