पालिकाका जड्याहाहरुलाई सम्मान

असल शासन प्रतिनिधि

पाल्पा/ पाल्पाको रिब्दीकोट गाउँपालिकाले नियमित जाँडरक्सी सेवन गर्ने पाँच दर्जन स्थानीयलाई सम्मान गरेको छ । उनीहरुलाई कार्यालयमै बोलाएर पालिकाले एक–एक वटा पोशाकसहित रातो टिका र फूलमालाले सम्मान गरेको जनाइएको छ ।

पालिकाले जाँडरक्सी सेवन गरेका उनीहरुलाई खराब बानी सुधार्न त्यसरी सम्मान गरेको हो । उनीहरुलाई मदिराको कुलतबाट छोडाउन व्यङ्गात्मकरुपमा यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

जाँडरक्सी सेवनबाट धेरैको घरबार बिग्रिएको, परिवार लथालिंग भएको, समाजमा दिनहुँँ कलह चर्किएको र कम उमेरमै मृत्युको घटना बढ्दै गएको सन्दर्भमा पालिकाले फरक अभ्यासस्वरूप यस्तो कार्यक्रम गरेको हो ।

‘जाँडरक्सी खाएको कारणले उहाँहरूलाई सम्मान गरेका होइनौं । जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन व्यङ्ग्यात्मक रूपमा यो कार्यक्रम गरेका हौं’, उनले भने ।

अध्यक्ष कार्कीले आफ्नै तलब भत्ताबाट ३० घरपरिवारलाई जनही ३५ सयका दरले निःशुल्क स्वास्थ बिमा गरिदिने घोषणासमेत गरेका छन् । कार्यक्रममा सहभागी अधिकांशले जाँडरक्सी छाड्ने प्रतिवद्धता जनाएको बताइन्छ ।

– जनआस्था अनलाइनबाट साभार

  • १९ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech