सवारी दुर्घटना न्यूनीकरणका लागि “स्लो बाइक कम्पिटिसन”

कैलाली स्लो बाईकमा रोशन प्रथम

ईन्द्रा कुमारी केसी

कैलाली/ पछिल्लो समय दैनिक रूपमा विभिन्न कारणले सडक दुर्घटनाहरू बढिरहेका छन् । दुर्घटना हुने विभिन्न कारण मध्य तीव्र गतिमा सवारी साधन चलाउनु एक प्रमुख कारण हो ।

नियमित जसो हुने सवारी दुर्घटना कयौँको मृत्युको कारण समेत बनेको छ । यसरी सडक दुर्घटनाका कारण दिनहुँ ज्यान गुमाउने क्रम बढिरहँदा त्यसको मारमा सर्वसाधारण यात्रु तथा पैदल सवार व्यक्तिहरू समेत पर्ने गरेका छन् । यसरी बढ्दो दुर्घटना न्यूनीकरणका लागि कैलालीको घोडाघोडी नगरपालिकामा स्लो बाइक कम्पिटिसन सम्पन्न गरिएको छ ।

“स्लो बाइक, सेभ लाइफ” भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताले सडक दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए ।

सवारी दुर्घटना दिनहुँ जसो भइरहेका हुन्छन् उनले भने, धेरै जसो दुर्घटना तीव्र गतिका कारणले नै भएको पाइन्छ । बिस्तारै हाँके अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न सवारीको तीव्र गतिलाई घटाउ आफू बचौँ र अरूलाई पनि बचाऔँ ।

तीव्र गतिमा सवारी साधन चलाएर ज्यान गुमाउनेमा धेरै जसो युवाहरू नै पर्ने गरेका छन् । यो प्रतियोगिता विशेष गरी युवाहरूलाई नै लक्षित गरेर आयोजना गरिएको हो ।

पुरस्कार जित्नका लागि मात्रै नभई सन्देश दिनका लागि यो प्रतियोगिता आयोजना गरिएको घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष घनश्याम ओझाले बताए ।

अहिलेका युवा पीढीले तीव्र गतिमा मोटरसाइकल चलाउने गरेका कारण अकालमै ज्यान गुमाइरहेका छन् । उनले भने- आफ्नो र अरूको ज्यानको सुरक्षाका लागि पनि बिस्तारै सवारी चलाउनुपर्दछ भन्ने सन्देश यो प्रतियोगिताले दिनेछ ।

कैलाली जिल्लामा सवारी चाप निकै बढी छ । यसरी बढ्दो सवारी चापका बिच तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम थप बढेको अस्थायी ट्राफिक प्रहरी पोस्ट साडेपानिका प्रमुख जितमान धामी बताउँछन् ।

धामीका अनुसार सडकमा नियन्त्रित गतिका साथ ट्राफिक नियमको पालना गरी सवारी साधनको प्रयोग गरेमा दुर्घटनाबाट बच्न सकिन्छ ।

प्रतियोगिताले सडक दुर्घटना न्यूनीकरणका महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बास नेपाल कैलालीका अध्यक्ष चिरञ्जीवी छेडालले बताए ।

घोडी नगरपालिकाको सहयोग तथा बास नेपाल कैलाली र घोडाघोडी उपशाखाले आयोजना गरेको स्लो बाइक प्रतियोगितामा प्रथम रोशन शाही, द्धितिय वीरेन्द्र शाही र तृतीय गणेश शाही भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा तीनै जनाले प्राप्त गरेको रकमबाट १० हजार घोडाघोडी क्लबलाई सहयोग गरेका छन् ।

क्लबलाई केही सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रमका बिच नै जितेको रकमबाट नगद १० हजार घोडाघोडी क्लबका अध्यक्ष होम तामाङलाई उनीहरूले सहयोग स्वरूप प्रदान गरेका हुन् ।

प्रतियोगितामा २३ जनाको सहभागिता रहेको थियो ।

  • १९ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech