सुर्तीजन्य पदार्थ बिरुद्ध बिशेष अभियान सञ्चालन गर्न माग

असल शासन प्रतिनिधि

बाँके/ बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेललाई सुर्तीजन्य पदार्थ बिरुद्ध बिशेष अभियान सञ्चालन गर्न माग गर्दे ज्ञापन पत्र बुझाईएको छ ।
बास नेपालले उक्त ज्ञापन पत्र बुझाएको हो ।
सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गरि सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिबृद्धि गर्न तथा सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्रि वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्नका लागि २०६८ सालमा सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ र नियमावली २०६८ कार्यान्वयनमा रहेको उल्लेख गर्दै  उक्त ऐन, नियमावलीमा भएको व्यवस्था बमोजिम आवश्यक कार्य गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको हो ।
बुझाईएको ज्ञापन पत्रमा ऐनको दफा ४ उपदफा १ मा कसैले पनि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ति सेवन गर्न नपाईने उल्लेख छ भने ऐनको दफा ५ मा व्यवस्थापकले आफुसँग सम्वन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार बिभिन्न ठाउँमा धुम्रपान तथा सुर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना टाँस गर्नुपर्ने व्यवस्था उल्लेख भएको जानकारी गराउँदै ऐनको दफा १४ मा व्यवस्थापकले आफुसँग सम्वन्धित सार्वजनिक स्थलमा कसैले  धुम्रपान, सुर्ति सेवन गरे वा नगरेको समय, समयमा निरिक्षण गर्ने र निरिक्षण गर्दा कसैले धुम्रपान, सुर्ति सेवन गरे वा नगरेको देखिएमा धुम्रपान, सुर्ति सेवन गर्न तुरुन्त रोक लगाउनु पर्ने उल्लेख छ भने दफा १७ को उपदफा १ को खण्ड क मा त्यसरी रोक लगाउँदा नमाने वा पटक, पटक धुम्रपान, सुर्ति सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना गर्नुपर्ने व्यवस्था भएको उल्लेख गरिएको छ । ऐनको दफा ३ को उपदफा १ ले तोकेको सार्वजनिक स्थलहरुलाई तत्काल धुम्रपान, सुर्ति निषेधित क्षेत्रको रुपमा घोषणा गरि सो ठाउँमा दफा ४ को उपदफा ५ बमोजिमको सूचना टाँस गर्न निर्देशन जारी गर्न लगाई ऐन, नियमावलीमा भएको व्यवस्था बमोजिम सचेतना, अनुगमन र कार्वाही समेत गर्ने गरि सुर्तिजन्य पदार्थ बिरुद्ध बिशेष अभियान सञ्चालन गर्न बास नेपालले स्थानीय प्रशासनसँग माग गरेको छ ।
बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौला, पूर्ब अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र जनसम्पर्क अधिकृत माधव कार्कीले बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेललाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।
ज्ञाप पत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले ज्ञापन पत्रमा उल्लेख गरिए बमोजिम सबैको सहकार्यमा सुर्तीजन्य पदार्थ बिरुद्ध बिशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
धूम्रपान तथा सुर्ति सेवन मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक भएको छ । यसको सेवनबाट फोक्सोको क्यान्सर, मष्तिष्कघात, मुख तथा घाँटिको क्यान्सर हुनुका साथै कम तौल भएका, अपाँगता भएका, मृत बच्चा जन्मिने, धूम्रपान तथा सुर्तिमा हुने निकोटिन तथा टार, कार्वन मोनोअक्साईडले मुटु, फोक्सोको रोग लाग्ने गरेको उल्लेख छ ।
सुर्तिजन्य पदार्थमा नाईट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरका कारक तत्व हुन्छन् । सुर्तीजन्य पदार्थको प्रयोगको कारणले गर्दा प्रमुख चार वटा नसर्ने रोग (क्यान्सर, स्वासप्रश्वास, मुटुरोग र मधुमेह) लाग्ने गर्दछ । प्रत्येक पाँच जना मध्ये दुई जना व्यक्ति अरुले सेवन गरेको धुम्रपानको धुवाँले पीडित हुन्छन् ।
पछिल्ला दिनमा सुर्तिजन्य पदार्थ सेवनको दर युवा वर्गमा उच्च देखिएको छ । सुर्तिजन्य पदार्र्थकोे प्रयोग महामारीको रुपमा देखा परेको छ । नेपालमा हरेक बर्ष करिव सत्ताईस हजार मानिसको मृत्यु सुर्तिजन्य पदार्थको प्रयोगको कारणले लागेको रोगबाट भएको पाईन्छ । उक्त रोगको उपचारमा राज्यको अरवौं लगानि भएको छ ।

  • २९ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech