राजापुर नगरपालिकाको ९ बुद्धे प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज / राजापुर नगरपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

राजापुर नगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा विभिन्न नौ बुद्धे प्रतिबद्धताको घोषणा गर्दै सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागि नगरवासीहरुले सुनुवाइमा उठाएका सवालहरुलाई सम्बोधन गर्दै गरिएका प्रतिबद्धताहरुमा नगर क्षेत्रभित्र ठेक्का प्रक्रियाबाट संञ्चालित बिकास निर्माणका कार्यहरुमा ढिलाई भएको गुनासोका सम्बन्धमा तत्काल कार्यहरु अघि बढाई सम्झौता अबधिमा सम्पन्न गर्न निर्देशन गर्ने, राजापुरमा रहेको गौशालालाई थप ब्यवस्थित गर्ने, राजापुरमा बधशाला नभएकाले आगामी बर्षमा जग्गा खोजी गरी बधशाला निर्माणका लागि पहल गर्ने, पालिका भर सर्पदंश सेवा नभएकाले सो सेवा सञ्चालनका लागि सम्भाब्यता अध्ययन गरि पालिकाबाट योजना बनाउने रहेका छन् ।

त्यस्तै राजापुर नगरपालिकाको वडा नम्बर ८ को खल्लाको सडक कालोपत्रे बनाउनका लागि आवश्यक पहल गर्ने, कृषकहरुले सहजरुपमा मल प्राप्त गर्ने गरी आबश्यक पहल गर्ने र वडा नम्बर ७ मा माबि सञ्चालनका लागि बजेट श्रोतले भ्याएसम्म पहल गर्ने, नदिमा रहेका गोहीहरुको आक्रमणबाट नागरिकहरु पिडित भैरहेकाले सो बारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, नगरबासीलाई घर बनाउँदा अनिवार्य नक्सा बनाउन आवहान गर्ने, पालिकामा रहेका सहकारीहरुको अनुगमन गरि अनुगमनमा देखा परेका समस्याहरु समाधानका लागि नियमन गर्नृुका साथै राजापुरमा रहेको बस पार्कलाई थप ब्यवस्थित गर्ने, राजापुर नगरपालिकाको बार्षिक कार्यक्रम बमोजिम लक्षित बर्ग उत्थान कार्यक्रम सञ्चालन गर्ने अनौपचारिक समुहरुको खाता सञ्चालनका लागि बैंक तथा बित्तिय संस्थाहरुमा पालिकाबाट सिफारिस गर्ने र हाल बन्द अबस्थामा रहेको राजापुर खानेपानी संस्था र अलपत्र परेका खानेपानी आयोजनाको डिपिआरलाई कार्यन्वयन गर्न संघ र प्रदेश सरकारसँग माग गर्ने, पालिका भित्र रहेका निर्माण हुने संरचनाहरुलाई अपाङ्गतामैत्री बनाउने प्रतिबद्धताहरु रहेका छन् ।

नगरभित्र बिकास निर्माणका कामहरु अलपत्र रुपमा रहेका, सहज रुपमा मल बिउ बिजनहरु नपाईने, बसपार्क अब्यस्थित रुपमा रहेका तर त्यसतर्फ पालिकाका जनप्रतिनिधिहरुले ध्यान दिन नसकेको, नगर भित्र खानेपानिको सुबिधा नभएको, वडा भित्र सडक कालोपत्रे नभएको र गौशाला र बधशाला लाई ब्यवस्थि गर्न नसकेको प्रश्नहरु सहभागीहरुले राखेका थिए ।

सहभागीहरुको प्रश्न तथा गुनासोको सुनुवाई गर्दै सरोकारवाला निकायको तर्फबाट नगरप्रमुख दिपेश थारु, उप प्रमुख मनकला कुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जँग शाही, वडा अध्यहरु, शाखा प्रमुखहरुले प्रश्नहरुको जवाफ दिएका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रममा सबै वडाका बडघरहरु र अन्य सर्बसाधारणहरु गरि तिन सय बढिको सहभागिता रहेको थियो ।

बासका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गरेका थिए भने बासका कार्यकारी निर्देशक नमस्कार शाहले पालिकाबाट सेवा लिएर फर्किदै गरेका सेवाग्राहीहरुबाट संकलन गरेको बहिर्गमन प्रतिबेदन र समुदाय स्तरमा गएर गरिएको नागरिक प्रतिबेदन पत्रको नतिजा प्रस्तुत गरेका थिए ।

 

  • १ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech