नेरीले लिइन् सन्यास

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पहिलो कप्तान नेपालगन्जकी नेरी थापाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छन् ।

फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘ १७ वर्षको गजबको यात्रा आरोह अवरोह सहित रहयो । खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।

नेरीकै कप्तानीमा देशले दुईवटा अन्तर्राष्ट्रिय उपाधि (नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिप) जितेको थियो भने दुई पटक उपविजेता बनेको थियो । सोही योगदानका कारण उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन पटक ‘उमन्स अफ दी सिरिज’ समेत प्राप्त गरेकी थिइन् ।

एसीसी महिला च्याम्पियनसिप २००७ मा उनी उत्कृष्ट बलर भएकी थिइन् भने एसियन क्रिकेट काउन्सिबाट २००८ मा उत्कृष्ट महिला उदयमान खेलाडी अवार्ड प्राप्त गरेकी थिइन् ।

एसीसी महिला टि-२० च्याम्पियनसिप २००९ मा सर्वाधिक विकेटकर्ता रहेकी उनाले २०१० एसीसी यु-१९ मा ३८.२० को औसत र १०१.४६ को स्ट्राइक रेटमा १ सय ९१ रन बनाउँदै नेरी उत्कृष्ट ब्याट्सउमन बनेकी थिइन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का प्रहार गर्ने पहिलो खेलाडी नेरीले सन् २०१० मा सिंगापुरमा भएको एसिसी यु–१९ वुमन्स च्याम्पियनसिपमा हङकङविरुद्ध छक्का प्रहार गरेकी थिइन् ।

नेपाली महिला घरेलु क्रिकेट इतिहासकै शतक बनाउने पहिलो खेलाडी उनले २०७० मा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा काठमाडौँ बिरुद्ध १२१ रन बनाउदै किर्तिमान कायम गरेकी थिइन् ।

नेपालको लागि दोश्रो र विश्वकै चौथो सबैभन्दा उत्कृष्ट बलिंग स्पेलको रेकर्ड बनाएकी उनले २०१९ आईसीसी टि-२० विश्वकप छनौट (एसिया) प्रतियोगितामा हंगकंग बिरुद्ध एकै खेलमा ६ विकेट लिंदै नेपालको लागि एकै इनिंगमा सर्वाधिक विकेटको रेकर्ड कायम गरेकी थिईन् । त्यस क्रममा नेरीले ४ ओभरमा ८ रन खर्चेकी थिईन् । त्यो स्पेलसंगै टि-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिने नेपालकै पहिलो क्रिकेटर समेत बनेकी थिईन् ।

टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ११ खेलमा देब्रे हाते बलर नेरीले १७ विकेट आफ्नो नाममा गरेकी छिन् ।

नेरीले २०१९ आईसीसी विश्व कप छनौट ( एसिया ) प्रतियोगितामा ६ खेलमा १३ विकेट लिंदै उक्त किर्तिमान आफ्नो नाम गरेकी थिईन्।

नेरी कै कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता २०७७ उपाधि बाँके महिला क्रिकेट खेलाडीले जितेको थियो ।

फाइनलमा रुपन्देहीलाई हराउँदा नेरी वुमन अफ द म्याच , बेष्ट ब्याट्सवुमनका साथै प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै वुमन अफ द सिरिज पनि बनेकी थिइन् ।

२०७९ मा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीय टिम एपीएफ क्लबबाट खेल्दा प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज बनेकी थिइन् । नेरीले प्रतियोगितामा ६ खेलमा एघार विकेट लिएकी थिईन् भने उनको टिमले रजत पदक जित्न सफल भएको थियो ।

  • ६ चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech