घुम्तीबाट खसेर दुई बल्ड्याङ खेलेपछि सडकमै ठडियो बस

प्रतीक्षा काफ्ले

दुर्घटनामा चालक पोखरा–२७ आरुपाटाका ४२ वर्षीय टीकाराम विक र सहचालक पोखरा–१४ चाउथेका ४१ वर्षीय शालिकराम सुवेदी घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनीहरु दुवैको अवस्था सामान्य छ ।

बस पल्टिँदा चालक र सहचालक गाडीबाट भाग्न सफल भएकाले मानवीय क्षति नभएको पाइएको एसपी थापाले बताए । ‘दुर्घटनाको प्रकृति हेर्दा बसमा यात्रु भएको भए ठूलो संख्यामा क्षति हुने रहेछ,’ उनले भने, ‘शनिवार रिजर्भ गएर फर्किएको बसमा यात्रु रहेनछन् ।’

प्रहरीका अनुसार बस सोही रुटमा चल्ने गर्थ्यो । चालक टीकारामले ब्रेक फेल भएका कारण बस पल्टिएको बयान दिएका छन् । यता, प्रहरीले प्राविधिकसहित चेकजाँच गर्दा गाडीको ब्रेक ठीक रहेको र चालकले घुम्ती मोड्न नसक्दा पल्टिएको पाइएको जनाएको छ ।

बस माथिल्लो सडकबाट २० मिटर तल खसेको छ । घुमाउरो अनि साँघुरो सडक भएकाले घुम्ती मोड्न चालकले नसकेको प्राविधिकले बताएका छन् । ‘गाडीका दुईपट्टि ढोका खुल्दा चालक र सहचालक भाग्न सफल भएछन् । ढोकाले गाडी ठड्याउन मद्दत गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘बस दुई बल्ड्याङ खेलेपछि सडकमा ठडिएको रहेछ । गाउँमा ट्राफिक प्रहरी हुँदैनन् । साँघुरो, घुम्ती नै घुम्ती भएको सडकमा चालकले गाडी ओभरस्पिड चलाएपछि दुर्घटना भएको देखिएको छ ।’

– ई कान्तिपुरबाट

  • २० चैत्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech