सुत्केरीको मृत्यु

सुन्दर रावत

हुम्ला/ हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी महिलाको मृत्यु भएको छ ।

आइतबार रोडिकोट स्वास्थ्य चौकीमा बच्चा जन्माएको केही समयपछि २८ वर्षीया गर्भवती रीता देवकोटाको मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको साढे एक घण्टापछि मृत्यु भएको हो ।

मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिएपनि आफन्तले ढिला आइतबार विहान ११ बजे मात्रै स्वास्थ्य चौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज टिका बोहराले बताए ।

इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको साढे दश बजे बच्चा जन्माउन सफल भएपनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए ।

‘बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो,’ उनले भने, ‘बच्चा जन्माएपछि रगत बग्न रोकिए थियो । तर, त्यसको केही समयपछि मृत्यु भयो ।’ मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ । जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएपनि दुर्भाग्यबस आमालाई बचाउन नसकिएको उनले बताए ।

यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको स्वास्थ्यकर्मी बताउँछन् । देवकोटाले पहिलो सन्तानका रुपमा छोरी जन्माएकी थिइन् ।

  • १० बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech