राप्तीसोनारी अस्पतालको सामाजिक परीक्षण सम्पन्न

असल शासन प्रतिनिधि

बाँके/ राप्तीसोनारी अस्पताल बैजापुरको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

राप्तीसोनारी अस्पतालको आयोजना तथा बास नेपालको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो ।

सामाजिक परीक्षणको क्रममा सोमवार आम भेला सम्पन्न भएको छ ।

आम भेलालाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले अस्पतालको समग्र बिकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

उनले पालिकाको एक मात्र अस्पताल राप्तीसोनारी अस्पताल रहेको उल्लेख गर्दै उनले अस्पतालबाट गुणस्तरिय सेवा दिन अस्पताल सम्बद्धहरुलाई निर्देशन दिए ।

अध्यक्ष पौडेलले अस्पतालको नयाँ भवन निर्माण भईरहेको उल्लेख गर्दै यसै आ.ब.मा भवन हस्तान्तरण हुने प्रकृयामा रहेको बताए । उनले भने – नयाँ भवन मात्रै बन्दा सेवा प्रबाह त सजिलो होल तर गुणस्तरीय सेवा भवन मात्रै ठडिएर हुन्छ भन्ने हुँदै त्यसका लागि काम गर्ने व्यक्ति जिम्मेवार हुनुपर्छ ।

कार्यक्रममा वडा नम्वर ४ का वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर खड्काले अस्पतालको सेवा गुणस्तरिय बनाउनका लागि आफु लागि परिरहेको बताए ।

कार्यक्रमको अन्तमा ५ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा सेवाग्राहीहरुको गुनासो व्यवस्थापन गर्ने, एम्बुलेन्स सेवा बारे सत्थ, तथ्य जानकारी व्यापक रुपमा गर्ने, फार्मेसी सेवालाई प्रभावकारी रुपमा निकट भविष्यमा सञ्चालन गर्ने, आगामी आ.ब.को नीति, कार्यक्रमका लागि अस्पतालबाट गाउँपालिकलाई सुझाव दिने र अस्पतालको सेवा, सुबिधा थप प्रभावकारी बनाउने रहेका छन् ।

बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षणका क्रममा प्राप्त तथ्यहरु बारेको प्रश्तुतिकरण गरेका थिए भने अस्पतालका सिनियर अहेव भुपेन्द्र बि.क.ले स्वास्थ्य संस्थाबाट प्रबाह भईरहेको सेवा, सुबिधाबारेको तथ्याँक प्रश्तुत गरेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

 

  • १७ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech