तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज/महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि किट ब्याग वितरण गरिएको छ ।
फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलियनपुरका २० जना किशोरीलाई उक्त किट ब्याग वितरण गरिएको हो ।


महिनावारी भएको समयमा बजारमा पाउने कमसल सेनेटरी प्याड तथा फोहोर कपडाको प्रयागले किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेटेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको हो । तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ । यसरी बितरण गरिएको किट ब्याग बिद्यालय गएको समय, यात्रामा वा घरमा जुन सुकै अवस्थामा पनि महिनावारी भएमा तत्काल प्रयोग गर्न मिल्ने गरी तयार गरिएको छ ।


फ्रिडम किट ब्याग प्राप्त गरेपछि बोल्दै स्थानीय १९ बर्षिया ज्योती बिकले सेनेटरी प्याडको बारेमा जानकारी भएपनि यसको फाईदा र प्रयोगको बारेमा जानकारी नभएको बताईन् । उनले अभिमुखिकरण बाट सेनेटरी प्याडको प्रयोग कसरी गर्ने, यसको फाईदा, पुनः प्रयोग गर्न मिल्ने प्याडका बारेमा पहिलो पटक जानकारी पाएको बताईन् । उनले आगामी दिनमा महिनावारी भएको अवस्थामा कसरी सुरक्षीत रहने भन्ने कुराको जानकारी भएको बताईन । यसैगरी अर्का सहभागि १७ बर्षिया भगवती सिंहले सेनेटरी प्याडको बारेमा पहिलो पटक जानकारी पाएको बताईन् । प्याडका प्रकार र प्रयोग विधिको बारेमा प्रष्ट जानकारी भएको र आगामी दिनमा सहज हुने बताईन् ।
कार्यक्रममा फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित बास नेपालका महिला शसक्तिकरण कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाहले जानकारी गराएका थिए । कार्यक्रममा फ्रिडम किट ब्याग वितरण फ्रिडम किट ब्यागकी एम्बेस्टर निर्मला श्रेष्ठ, प्रशिक्षक मिना श्रेष्ठ, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले गरेका थिए ।


फ्रिडम किट ब्याग युकेको सहयोगमा बास नेपालले नेपालगन्जमा फ्रिडम किट ब्याग उत्पादन गरि निशुल्क ग्रामिण समुदायका किशोरी र महिलाहरुलाई उपलश्ध गराउदै आएको छ ।

  • १८ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech