नेपालगन्ज १९ मा बालमैत्री स्थानीय शासन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बालमैत्री स्थानीय शासन विषयक दुइ दिने तालिम नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ मा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा आइतबारबाट सुरु भइ सोमबार सो तालिम सम्पन्न भएको हो ।

तालिमको समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १९ का अध्यक्ष परसराम कुर्मीले बालमैत्री स्थानीय शासनको शिदान्तलाई अवलम्बन गर्दै वडालाई बालमैत्री वडा घोषणा गर्ने गरीे कार्ययोजनाबद्ध रुपले अभियान सञ्चालन गर्ने बताएका थिए । स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार वडालाई बालमैत्री वडा घोषणा गर्ने अभिप्रायका साथ लाग्ने बताउदै वडामा रहेका सबै सरोकारवाला निकायको समन्वय र सहयोगबाट मात्रै अभियानले सार्थक्ता पाउने कुर्मीको भनाइ थियो ।

२ दिन सम्म चलेको तालिमको समापनमा बोल्दै वडा सदस्य रामसुहावन कुर्मी र अमृता सिंहले तालिमबाट बालमैत्री स्थानीय शासनको वारेमा सबैलाई जानकारी भएको बताउदै सबैले आ—आफ्नो जिम्मेवारी पुरा गर्न लागि परेमा वडालाई बालमैत्री वडा बनाउने अभियान सफल हुने बताए । तालिमका सहभागि हिमानी परियार र रिंकी शुक्लाले तालिमका विषयवस्तु समय सान्दर्भिक भएको र उपलब्धिमुलक भएको बताएका थिए । वडाभित्र यस पहिले बनेका संरचनाहरु बालमैत्री नबनेको बताउदै अव बन्ने संरचनाहरु बालमैत्री बनाउनेतर्फ सबैको ध्यान दिनुपर्ने सहभागिहरुको भनाइ थियो ।

२ दिन सम्म चलेको तालिममा प्रशिक्षक मन भण्डारी र रबिन्द्र बोहराले बाल अधिकार, बाल संरक्षण, बालबाललिकाको आधारभूत अधिकार तथा व्यवस्था र कानुनी प्रावधान, बालमैत्री स्थानीय शासनको अवधारणा, विषय, मुख्य क्षेत्र तथा सिद्धान्त, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री स्थानीय शासनका चरणहरु, स्थानीय सरकारको भुमिका लगायतको विषयमा प्रशिक्षण दिएका थिए ।

तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा बिध्यालय स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु लगायतका ३५ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको संचालन युवा घरका सदस्य शिव कुमार वर्माले गरेका थिए ।

 

  • २४ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech