डकैतीमा संलग्न दुई पक्राउ

असल शासन प्रतिनिधि

बाँके/ डकैतीमा संलग्न समूहमध्ये दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले डकैतीमा संलग्न समूहमध्ये दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार डकैतीमा संलग्न भारतको बहराईच खैरीघाट नमावङ्गलाका ५५ वर्षीय मनेश्वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी पक्राउ परेका हुन् ।

उनीहरुले गत चैत्र २६ गते राती बाँके जानकी गाउँपालिका वडा नं–४ स्थित जानकी नगरकी दुर्गा कुमारी दमाईको घरमा डकैती गरेको प्रहरी प्रवक्ता डाँगीले जानकारी दिनुभयो । घरमा रहेको पसलबाट सामान चाहियो भनेर ढोका खोल्न लगाएर ७/८ जनाको समूहमा उनीहरुले डकैती गरेका थिए ।

ढोका खोल्न लगाएर जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाएर घरमा रहेका तीन जना परिवारको मुख कपडाले छोपी हात बाँधेर घरमा रहेको गरहना, मोबाईल, पसलको सामान र नगद लुटेर भागेका थिए ।

अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई तीन दिनको म्याद थप गराइएको छ । घटनामा संलग्न थप दुई व्यक्तिहरुको पहिचान भइसकेकोले खोजतलास भइरहेको बाँके प्रहरीले जनाएको छ ।

  • ३१ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech