जानकीमा लुटपाट गर्ने पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको जानकीमा लुटपाट गर्दै आएका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जानकी गाउँपालिकाका बिभिन्न गाउँहरुमा डाँका चोरीमा संलग्न गिरोह मध्यका दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको हो ।

बिगत केही महिनादेखि जानकी र त्यस आसपासमा उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गर्ने काय गर्दै आएका थिए ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच थाना खैरीघाट नमाबङ्गलाका ५५ वर्षीय मनेश्वर गोडिया र सोही ठेगानाका ५२ वर्षीय कुलेराज कुर्मी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले गत चैत २६ गते राती १२ बजेको समयमा बाँकेको जानकी गाउँपालिका वडा नं. ४ जानकीनगरस्थित दुर्गाकुमारी दमाईको घरमा रहेको पसलबाट लुटपाट गरेका थिए ।

उनीहरूले बन्दुक तथा धारिलो हतियार देखाएर घरमा रहेका तीन जना परिवारलाई कपडाले मुख छोपी हात बाँधेर घरभित्र रहेका सुनका गरगहना, मोबाइलहरू, पसलमा रहेका सामान तथा नगदसमेत लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ ।

उक्त लुटपाटमा ७/८ जनाको संलग्नता रहेकोमा हाल दुई जना पक्राउ गरी बाँके जिल्ला अदालतबाट तीन दिन म्याद थप लिई अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।

गत फागुन २३ गते मध्यराती जानकी गाउँपालिका ३ रुद्रपुर नयाँबस्तीमा लुटपाट गर्न आएका लुटेरा समुहको आक्रमणबाट स्थानीय सन्तोष कठरिया थारुको मृत्यु भएको थियो भने चैत्र महिनामा १०/१२ जनाको समूहमा हतियारसहित आएका लुटेरा समुहले जानकी गाउंपालिका वडा नम्बर ६, कपासीका लोकेन्द्र बुढाको घरमा लुटपाट गरेको थियो ।

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech