झोलुंगे पुलमा फसेका खच्चडहरुको उद्धार, दुइको गयो ज्यान

असल शासन प्रतिनिधि

कर्णाली/ कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि जीवितै उद्धार गरिएको छ ।

आठ वटालाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो ।

नदीमा खसालेर डुंगामार्फत् खच्चडलाई तारेर नदी किनार लगिएको थियो । पुलको छेउ भागमा फसेका तीन वटालाई त्यही विधिबाट उद्धार गर्दा बगरमा पर्ने भएपछि डोरीले बाँधेर उद्धार गरिएको थियो ।

पुलमा फसेकामध्ये दुई वटा खच्चडको जीवितै उद्धार गर्न सकिएन । आठबीस नगरपालिका ६ नम्बर वडाका अध्यक्ष नवराज शर्माका अनुसार एउटा खच्चड पुलमै मरिसकेको थियो । अर्को खच्चडको जाली काटेर नदीमा खसालेपछि मृत्यु भएको हो ।

आइतबार बिहान दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा जोड्ने झोलुंगे पुलमा १३ वटा खच्चड फसेका थिए । ती मालसामान ढुवानी गर्ने खच्चडहरू हुन् । खच्चडधनीहरूले उनीहरूलाई चामल ढुवानीका लागि दैलेख लैजाँदै थिए ।

पुलमा खच्चड हिँड्न थालेपछि एकतर्फका लठ्ठा चुडिँदा १३ वडा खच्चड जालीमा छिरेका थिए । लठ्ठा चुडिँएको भागमा पुल कोल्टे परेको छ । पुलमा फसेका खच्चडको उद्दारका लागि अछाम र दैलेखबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

स्थानीय र सुरक्षाकर्मीको समन्वयमा घटना भएको करिब दुई घन्टापछि मात्र उद्दार सुरु गरिएको थियो । खच्चडहरू बिहान नौ बजे पुलमा अड्किएका थिए । उनीहरूको दिउँसो साढे दुई बजे उद्धार सकिएको हो ।

  • २७ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech