सम्झनामा दानवीर श्री जंग शाह

कृष्णजंग शाह

जाजरकोटी राज खानदानका व्यक्ति नरजंग शाहका तीन भाइ छोरा मध्ये माइला सुपुत्र फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज, बाँकेका संस्थापक स्वर्गीय फत्तेजंगशाह र बाल दिव्येश्वरी शाहको कान्छा सुपुत्र हुन् श्री जंग शाह । वि.सं. १९८० आज भन्दा सय वर्ष अघि जन्मिएका श्री जंग शाह जाजरकोटी राजा जंग बहादुर शाहको चौथो पुस्ताका सन्तान हुन् ।

आमा बुवाको मुल्य मान्यता, आदर्श र संस्कारबाट अति प्रभावित भई सधैं कर्ममा मात्र विश्वास गर्ने उदार हृदयका श्री जंग शाहको बाल्यकाल वि.स. १९९० सालको भुइँचालो र तत्कालीन समयको घटनाक्रमले निम्त्याएको पारिवारिक सङ्कटका कारण त्यति सहज भएन । तत्कालीन समयको राजनीतिक घटनाक्रमले पारिवारिक अस्थिरता र सङ्क्रमणकाल निम्त्याए पनि माता पिताको शिक्षाप्रति अतिनै सचेत र जागरुक भएका कारण पनि उनको पढाइमा असहज वातावरणले कुनै असर पारेन । उनले पढाइलाई निरन्तरता दिइनै रहे । उनले कलकत्ता विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

राष्ट्रप्रतिको उनको योगदान तथा सेवाको चर्चा गर्दा भिन्न भिन्न समयमा नेपाल राष्ट्र बैङ्कको डाइरेक्टर तथा अल्टरनेट गभर्नर, त्रिभुवन विश्वविद्यालयको सिनेट मेम्बर, तत्कालीन शाही नेपालवायु सेवा निगमको डाइरेक्टर, पशुपति क्षेत्र विकास कोषको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, नेपाल नेत्रज्योति संघको आजीवन सदस्य, लुम्बिनी विकास कोषको सदस्य, फत्तेबाल आँखा अस्पतालको प्रमुख दाता र फत्तेबाल आँखा अस्पतालको संरक्षक जस्ता अनेक जिम्मेवारीमा रहेको पाईन्छ ।

राष्ट्र सेवक भूमिकामा रही उनले वि.सं. २०१७ मा नेपाल राष्ट्र बैङ्कको डाइरेक्टर हुँदा उनले बैङ्किङ क्षेत्रमा देखिएका केही समस्याहरू समाधान गरी शाखा विस्तार गरे । वि.स.२०३० र वि.स. २०३५ सालमा शाही नेपाल वायु सेवा निगममा कार्यरत रहँदा बोइङ जहाज किन्ने लगायत निगम भित्रका सुधारका धेरै काम उनले गरेका थिए ।

विनम्र, अनुशासित, धीर र सहृदय स्वभावका श्रीजंग शाह, दीन दुःखीहरूको सेवा गर्न पाउँदा आफू ज्यादै आनन्दित हुने गरेको सुनाउँथे ।आध्यात्मिक कार्यमा रुचि र विश्वास गर्ने नियमित पुजापाठ, ध्यान, योग र साधना गर्ने कर्म र असल कार्यलाई मान्ने श्री जंग गीता र वाइबल पढ्न रुचि राख्थे । समाजमा असल र सकारात्मक काम गर्नुपर्छ भन्ने कुरा उनले सानोमा आमा बुवाबाट सिकेको र सोही कुरालाई पछ्याएको उनले आफ्नो जीवनी कथा मेरो जीवनकोमा उल्लेख गरेका छन् । उनले गरिब, दीन दुःखीको सेवा गर्नु आफ्नो मुल मन्त्र भनेका छन् । मानव कल्याण वा परोपकारी काम गरेर अरुको सहयोगी बन्नु पर्छ भन्ने आफ्नै जीवनबाट सिकेको शिक्षाको प्रतिफल हो ।

मेरो मनमा कल्याणकारी काम गर्ने असल सोचको उपज मेरै पारिवारिक माहोल वातावरणले तयार गरेको हो जस्तो लाग्छ  –उनले जीवनीमा लेखेका छन् – बुवा फत्तेजंग शाह र मुवा बालदिव्येश्वरी शाहले २० कोठे घर र ३० कट्ठा जग्गा वि.सँ. २०४३ सालमा आँखा अस्पतालका लागि दान दिएको कुराले आफूलाई सेवा गर्नुपर्छ भन्ने प्रेरणा मिलेको हो । बुवा र मुवाको नामबाट परोपकारी र कल्याणकारी काम गर्न खुलेको अस्पतालले अँध्यारो संसार हेर्न बाध्य भएका धेरै दुःखीहरूलाई दृष्टि/ उज्यालो दिएकोमा आफू निकै खुशी र आनन्दमय हुने गरेको उनी बताउँथे । दान दिने प्रेरणाका रूपमा आफ्ना माता र पिताको स्मरण गर्दै दानवीर श्री जंगले बुवाको विरासतलाई टेको दिदै सहयोग गर्नु पूर्वीय दर्शनको निरन्तरता हो ।

फत्तेबाल आँखा अस्पताल आफ्नो फलेको फुलेको सपना हो भन्दै उनले आफ्नो र सहधर्मी रुद्रकुमारीको शेष पछि काठमाडौं स्थित झन्डै २१ करोड २३ लाख २६ हजार रूपैयाँ सरकारी मूल्य पर्ने घर र जग्गा दान गरेका थिए । यो घर जग्गा २०७६ सालको मुल्यमा किनबेच हुँदा एक अर्ब रूपैयाँ भन्दा बढी पर्ने हुन्छ । अस्पतालको भौतिक संरचना लगायत अन्य पक्षको सुदृढिकरण र सवलीकरणका लागि थप सहयोग पुग्ने र अस्पतालको व्यापक विस्तार हुने आशा गरिएको छ । बुवा फत्तेजंग जंग शाह र मुमा वाल दिव्येश्वरीको नाममा खोलिएको फत्ते–बाल आँखा अस्पतालका संरक्षक श्रीजंग शाह जाजरकोटी शाह परिवारमा सम्भवतः स्नाकोत्तर गर्ने पहिलो व्यक्ति हुन् ।

सुविख्यात त्रीशक्ति पदक दोश्रोबाट विभूषित उनले संयुक्त राष्ट्र संघको महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व पनि गरेका थिए । तत्कालिन शाही नेपाल वायु सेवा निगमको बोर्ड डाईरेक्टरको हैसियतले उनले दुईवटा वाईडबडी जहाजहरु Boing ७५७ खरिद गर्ने कार्यलाई कुशल र विवाद रहित नेतृत्व प्रदान गरी सो समयमा निकै प्रशंसनीय काम गरेका थिए ।

स्वर्गीय श्री जंगशाहको पारिवारिक विवरणको कुरा गर्दा श्री जंग शाहकी एक मात्र छोरी ईश्वरी राणा हुन् भने ज्वाइँ नेपालमै खेलकुद जगतका नामुद हस्ती रुक्म सम्सेर राणा हुन् । छोरी ईश्वरी राणाकी पनि एक मात्र छोरी रति शाह र ज्वाइँ प्रख्यात बैंकर अनिल केशरी शाह हुन् ।

जाजरकोटी शाह परिवारका धरोहर श्रद्धेय श्रीजंग शाह १०१ वर्षको उमेरमा मिति २०८१ साल जेठ १६ गते साँझ ५ बजे आफ्नै निवास काठमाडौंस्थित कान्तिपथ श्रीकुन्जमा निधन भएको थियो । आज वहाँको तेह्रौ पूण्यतिथि परेको छ ।

दीन दुःखीहरूको पर्याय बनेका सम्भवत सबैभन्दा बढी दान दिने दानवीर श्री जंग प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै सत् सत् नमन !

(लेखक शाह बरिष्ठ समाजसेवी हुन् – सम्पादक)

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech