घोडाघोडीमा सूचक प्रजाती गणना कार्य सुुरु

ईन्द्रा कुुमारी केसी

 

घोडाघोडी (कैलाली),२९ जेठ/

विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडीमा सूचक प्रजाती गणना कार्य सुुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा गणना कार्य सुुरु भएको हो । घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचिकृत गर्ने सूचक प्रजातीका रूपमा जंगली धान, मगर गोही, र हरिहाँस रहेका छन् ।

चरा संरक्षण नेटवर्क कैलालीले बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आईरहेको छ । घोडाघोडीमा सूचक प्रजाती गणना बर्षको २ पटक गर्ने गरिन्छ । सोही अनुरुप यस पटक पनि सूचक प्रजाती गणना कार्य सुरु गरिएको चरा संरक्षण नेटवर्क कैलालीका कार्यवाहक अध्यक्ष नवराज न्युुरेले जानकारी दिए ।

न्युुरेका अनुुसार सूचक प्रजातीको गणनाले उनिहरूको अवस्था र चुनौती पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायलाई संरक्षणमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
सूचक प्रजाती गणना कार्यको उद्घाटन गर्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले घोडाघोडी क्षेत्रलाई संरक्षण गर्न सरोकारवालाहरूको साझेदारीमा सचेतनामुलक लगायत विभिन्न कार्यक्रमहरू गरिरहेको बताए ।

यहाँ रहेका सूचक प्रजातीहरुको संरक्षण गर्दै तीनको संख्या बढाउन सबै एकजुट हुनुपर्ने बताउदै उनले भने, हामीले प्रदेश सरकारसँग घोडाघोडी क्षेत्रका सवालहरू सम्बोधन गर्न विभिन्न कार्यक्रम प्रस्ताव गरी बजेट माग गरेका छौं ।

नेपालमै सबै भन्दा धेरै ताल तलैया भएको जिल्लाका रुपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठूलो प्राकृतिक ताल हो ।
घोडाघोडी ताल क्षेत्रमा घोडाघोडी सहित २४ वटा ताल रहेका छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराहरूको वासस्थानका लागि सबैभन्दा उपयुुक्त रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए ।

घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फाल्गुन २०७८ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ ३८१ प्रजातीका चरा पाइन्छन् ।
घोडाघोडीमा बर्खा र हिउदमा सुुचक प्रजाती गणना गरिदै आएको छ । यस पटकको बर्खे सुुचक प्रजाती गणना कार्यमा चरा संरक्षण नेटवर्क कैलालीका कार्यवाहक अध्यक्ष नवराज न्युुरे, सचिब रामकुुमार चौधरी र जमुुना न्युुरेको नेतृत्वमा तीन वटा समूह खटिएको छ ।

 

  • २९ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech