नेपालगन्ज /अन्तराष्ट्रि बाघ दिवसको अवसरमा बाघ संरक्षणको विषयमा सडक नाटक गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बाँके र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ को सहयोगमा बास नेपालले सडक नाटक प्रर्दशन गरेको हो ।
बाघको महत्व, बाघ संरक्षण र बाघबाट बच्ने उपायहरु बारे सन्देश प्रबाह गर्ने उद्धेश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ५ को बिनौना र वडा नम्वर ६ को फत्तेपुरमा सोमबार सडक नाटक प्रदर्शन गरिएको हो ।
सडक नाटकमा मन भण्डारी, तपेन्द्र मलाती, अशोक रावल, लोक बहादुर घर्ती, शोभा थापा मगर, जित बहादुर थापा, जानकी बि.क., लगायतले अभिनय गरेका थिए । मन भण्डारीको निर्देशन रहेको उक्त सडक नाटक दुई स्थानमा गरी २ सय बढि स्थानीयहरुले अवलोकन गरेका थिए । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ । दिवसको दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थानको संरक्षण, बाघको संख्यामा आएको वृद्धि र ह्रासबारे जानकारीका साथै बाघ संरक्षणमा भएका प्रयासबारे चर्चा हुने गरेको छ ।