बर्दिया/ लैङ्गिक तथा अपाङ्गता मैत्री समावेशी शौचालय निर्माण गरी बारबर्दिया नगरपालिका ५ तर्कापुरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप) को साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत बालविवाह न्युनिकरण परियोजनाद्धारा निर्माण गरिएको शौचालय उद्घाटन गरी हस्तान्तरण गरीएको छ ।
परियोजनाद्धारा हातधुने स्थान सहित तीन कोठे शौचालय ब्यबसायिक निर्माण कम्पनीले निर्माण सम्पन्न गरी पुर्णरुपमा संचालनमा ल्याएर विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा सहयोग पुर्याउने उदेश्यले निर्माण गरीएको शौचालय छात्र छात्रा तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सहज पहुचयुक्त रहेको छ ।
उक्त शौचालय करिब १४ लाख ३८ हजार रुपैयामा निर्माण गरिएको छ । शौचालयको उद्घाटन बारबर्दिया नगरपालिकाका नगरउपप्रमुख रत्नकुमारी पाण्डेले गर्नु भएको छ । परियोजनाले शिक्षा क्षेत्रसंगै पालिकाको बिभिन्न बिषयमा सहयोग गरीरहेको छ ।
सामाजिक क्षेत्रको विकासमा प्लान ईन्टरनेशल नेपाल र बि ग्रुपको महत्वपुर्ण भूमिका रहेको उप्रमुख पाण्डेले प्रष्ट्याउनु भयो । कार्यक्रमा बिग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले बाल विवाह न्युनिकरणसंगै शिक्षा क्षेत्रमा पनि काम गरीरहेको बताउनु भएको छ ।
समुदायमा हानीकारक अभ्यासको रुपमा रहेको बाल विवाहलाई न्युनिकरण गर्ने अभियानलाई सफल बनाउन सबै सचेत नागरिकले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ । समुदायमा लुकेर रहेको यौनिकताको बिषयलाई शिक्षाको रुपमा अगाडी बढाउनु पर्नेमा उहाँको जोड छ । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले दिगो विकासको लक्ष्य प्राप्तिका लागि काम गरिरहेको बताउनु भयो ।
बारबर्दिया नगरपालिका सन् २०२८ सम्ममा दिगोविकास लक्ष्यको सबै लक्ष्यहरु पुरा गर्ने अभियानमा रहेको जानकारी गराउनु भएको छ । यसमा सबै सरोकारवाला निकायहरुको महत्वपुर्ण र सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई छ ।
विद्यालयका प्राधानाध्यापक कार्यक्रममा स्वागतगर्दै बि ग्रुपले भौतिक संरचना निर्माण तथा शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याएको बताउनु भयो । विद्यालय तथा समुदायमा सचेतना विकासका लागि समेत योगदान पुर्याएको बताउनु भएको छ ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कल्लुराम थारुको अध्यक्षतामा भएको थियो ।