विक्रम संवत् २०२२ श्रावण २७ गते बाँकेको तत्कालीन हिरमिनिया गाविस वडा नम्बर ५ हालको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा बुवा स्वर्गीय तप्त बहादुर सिंह र आमा स्वर्गीय हेमरानी सिंहको पहिलो सन्तानको रुपमा जन्मिएका थिए समाजसेवी जयकेश सिंह ।
परिवारका दुई सन्तान मध्येका एक बहिनी र एक भाई मध्य जयकेश सानै देखी अन्य बालबालिकाहरु भन्दा बेग्लै प्रकृतिका थिए । उनी १० महिनाको उमेरमै हिँड्न शुरु गरेका थिए । जयकेश सिंह आफ्नो घरदेखि नजिकै रहेको विद्यालयमा गाउँका अन्य विद्यार्थीहरु विद्यालय गएको देख्दा उनीहरुसँगै पछि लागेर विद्यालयसम्म पुग्ने गर्दथे । उमेरले भर्खर २ वर्ष पूरा भएता पनि विद्यालय जाने रुचि देखाएपछि एक दिन गाउँकै एकजना राजु दाइसँगै कपडै नलगाई विद्यालय पुगेको उनलाई सम्झना छ । उनी बालापन सम्झिँदै भन्छन्,‘तत्कालीन अवस्थाको विद्यालयमा अफिस र कक्षा कोठासँगै भएको र सरले पढाउँदै गर्दा टेबुलमा राखिएका अफिसका महत्वपूर्ण कागजात च्यातिदिएपछि सरले निकै गाली गरेर भोलिबाट विद्यालय नआउन भन्नु भयो ।’
तत्काल रिसाए पनि उनै शिक्षक यति सानै उमेरमा विद्यालयमा आउन पढ्न चाहने बालक भएकाले जयकेशकै घरमा आएर बुवासँग विद्यालय पठाइदिन भनेको उनलाई सम्झना छ । विद्यालय त पठाउने विद्यालयमा के नाम लेखाउने ? भन्ने बारे छलफल चलेपछि बुवाले आफूलाई बाबु तिम्रो नाम के राखम् भन्दा आफैले आफ्नो नाम जयकेश सिंह राख्न भने पछि विद्यालयमा त्यहीँ नाम राखिएको अनौठो प्रसङ्ग उनले सुनाए ।
यसरी निकै तृष्ण स्वभावका जयकेश सिंह साढे २ वर्षकै उमेरमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिख्खनपुरुवामा पढ्न जान थाले । जब स्कुल जान थाले तब महामारी रोग ठेउलाको प्रकोप बढ्न थाल्यो जसबाट उनी अछुतो रहन सकेनन् । अधिकांश बालबालिकाहरुमा शरीरभरि ठेउला आएर बिरामी हुन थाले भने जयकेश पनि मानसिक तथा शारीरिक रुपमा निकै कमजोर हुँदै गए र विद्यालय जान पनि छोडे । त्यो समयमा अस्पतालहरु पनि नभएको र ठेउला रोगको उपचार पनि नहुनाले घरेलु उपचार पूजापाठबाटै उपचार गर्ने गरिन्थ्यो । जयकेशको अनुहार र शरीरभरि ठेउला आएको र पछि बिस्तारै सञ्चो हुँदै गएपछि ४ वर्षको उमेरबाट मात्र विद्यालय जान उनले शुरु गरेका थिए ।
कक्षा १ देखि ३ सम्म नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिख्खन्पुरुवा, कक्षा ४ देखि ७ सम्म युद्ध निम्न माध्यामिक विद्यालय नेपालगन्ज र कक्षा ७ देखि ९ सम्म नारायण मावि नेपालगन्जमा अध्ययन गरेका उनले नेहरु स्मारक इन्टर कलेज रुपैडिहाबाट १० कक्षा उत्तीर्ण गरेका थिए । जयकेशले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।
उनै जयकेश सिंह अहिले समाजमा जे.के. सिंहका नाममा प्रतिष्ठित छन् । जयकेश सिंहको जुन ख्याति प्राप्त नाम छ त्यो प्राप्त गर्न उनले धेरै संघर्ष गरेका छन् । बाल्यावस्थामै ठेउलाबाट ग्रसित भएका उनलाई विद्यालयमा साथीहरुले जिस्काएर उनको मनोबल नै गिराउने काम गर्दथे । पछि बिस्तारै शरीरभरि भएका ठेउला सञ्चो हुँदै गएपछि त्यो समस्या त आएन तर पनि पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकाले चुनौती भने थपिँदै गयो । कृषिमा परनिर्भर जयकेशका बुवा तप्त बहादुर सिंह पारिवारका साहिँलो छोरा थिए भने सबै कृषि कार्यमा व्यस्त भएकाले जयकेशले विद्यालय पढ्दा आर्थिक समस्या निकै झेल्नु पर्यो ।
आफ्नो जीवनको अविस्मरणीय क्षण सम्झिँदा पटक पटक भाबुक हुने जयकेशले एउटा तीतो अनुभव सुनाए,‘जतिखेर म नेहरु स्मारक इन्टरकलेज पढ्दै थिए विद्यालयबाट एल्बम प्रतियोगिता र भलिबल प्रतियोगिताका लागि सुल्तानपुर जानुपर्ने भयो त्यसको लागि एक सय रुपैयाँ एक हप्ताभित्र जम्मा गरिसक्नु पर्ने भनियो । हिरमिनियादेखि पुरानो बिग्रिएको (ब्रेक समेत नभएको) साइकलमा पढ्न विद्यालय पुग्ने मसँग पैसा जोहो गर्न निकै चुनौती रह्यो । घरमा आमा बुवासँग भने तर कतैबाट जोहो नभएपछि निराश भएर विद्यालय पुगें । जब प्रार्थनाको समयमा अगाडिबाट सरले ठूलो स्वरमा पैसा जम्मा गरेकाहरुको नाम भन्दै जाँदा जयकेशले किन पैसा जम्मा नगरेको भनेर कराउनु भयो तब म झनै निराश भएँ । त्यति ठूलो विद्यार्थीहरुको (जबकी १० कक्षामा मात्र ८ वटा सेक्सन थिए) सामु नाम लिँदा म रुन थालें, सोही बेला एकजना सर आएर नरोऊ तिमीले पैसा तिर्नु पर्दैन म तिरिदिन्छु चिन्ता नगर तर तिमी अवश्य जानु पर्छ भनेर सम्झाउनु भयो । बेलुका आफूले दिनभरिको सबै कुरा बुवा आमालाई सुनाएँ, सुनेर बुवा निकै दुःखी भएर आफूलाई, हेर छोरा हाम्रो आर्थिक अवस्था कमजोरीका कारण तिमीलाई आज विद्यालयमा त्यस्तो अवस्था भयो हामीलाई माफ गररिदेऊ छोरा तिम्रो लागि एक सय रुपैयाँ पनि जम्मा गर्न सकेनौं भन्न थाल्नुभयो र भोलिपल्ट बिहान जाँदै गर्दा बुवाले जेनतेन जम्मा गरेको ३५ रुपैयाँ दिनु भयो । मैले पर्दैन सबै सरले मिलाई सक्नु भएको छ भन्दा पनि बुवाले मेरो खल्तीमा ३५ रुपैयाँ राखिदिनुभयो । जसबाट १५ रुपैयाँ खर्च गरेर २५ रुपैयाँ फिर्ता लिएर बुवालाईनै मैले दिएको थिएँ । यसरी म उक्त प्रतियोगितामा सहभागी भएको थिएँ ।’
जुन घटना आफू कहिल्यै नभुल्ने उनी बताउँछन् ।
सिंहका बुवाले नेपालगन्जको चारबाहिनी रोडमा घडेरी किनेर घर बनाई सक्नु भएकाले २०३७ सालमा हिरमिनियाबाट उनको सम्पूर्ण परिवार नेपालगन्जमै बसाइ सरिसकेको थियो । बहराइचस्थित महाराज सिंह कलेजबाट इन्टरमिडियट र गायत्री विद्यापीठ महाविद्यालय बहराइचबाट बि.कम उत्तीर्ण गरेर एमएसम्मको अध्ययन गरेका जयकेशले आमा बुवाको कृषि कर्मबाट जेनतेन चलिरहेको बेला २०४२ सालमा बुवा बाथरोगबाट पीडित भएपछि आम्दानीको श्रोत बन्द भयोे । पढाइ सकेर घरको आर्थिक आम्दानीको श्रोत चलायमान गराउन उनले आफ्नै घरमा किराना पसल चलाउन थाले । जसमा किराना सामानदेखि कोल्ड ड्रिङ्स, मट्टीतेल बेचिन्थ्यो ।
व्यापार सञ्चालन गरिरहँदै गर्दा भारतको सोहरतगढ सिद्धार्थनगर जिल्लाबाट २०४५ साल जेठमा इन्दु सिंहसँग मागी बिहे गरी लगनगाँठो कसेका उनले व्यवसाय गरिरहँदा घर नजिकैका दामोदर पौडेलसँग उनको चिनजान हुन्छ । पसलमा सामान किन्न आउँदा, बोलचाल, गफगाफ हुँदै गर्दा सिंहको पढाइ अनि व्यवसायको बारेमा उनी प्रश्न गर्छन र भन्छन् यत्ति पढेका मान्छे नोकरी गर्नु पर्छ भनेर सुझाव दिन्छन् । अनि मलाई कसले जागिर दिन्छ भनेर सोध्दा उनैले सिंहलाई जानकी मावि खजुरामा शिक्षक पद खाली छ जाऊ भनेपछि उनीसँगै एक दिन उक्त विद्यालयमा गए जहाँ साथी दामोदरले विज्ञान विषय पढाउँदा रहेछन् ।
सिंह भन्छन्,‘उक्त विद्यालयका सञ्चालक समितिका अध्यक्ष यज्ञ बहादुर धिताल, प्रधानाध्यापक लक्ष्मण गौतमसहितको टोलीले आफ्नै निगरानीमा मलाई कक्षा कोठामा गएर पढाउन भन्नुभयो । उहाँहरुलाई राम्रै लाग्यो होला सायद मैले पढाउन शुरु गरे ।
२०४६ सालबाट जानकी माविमा पढाउन शुरु गरेका जयकेशले २०५५ सम्म सोही विद्यालयमै पढाए । त्यसपछि मंगल प्रसाद मावि नेपालगन्जमा सरुवा भएर आएका उनी लामो अवधिसम्म अध्यापन गरी २०७७ साल चैत्र मसान्तमा उपदानमा शिक्षण पेशाबाट बिदा लिई सामाजिक सेवामा तल्लीन भएर लागेका छन् । हुन त उनले शिक्षण पेसा गर्दै गर्दा पनि सामाजिक कार्यमा संलग्न नभएको भने होइनन् । शिक्षण पेसासँगै उनी नेपाल रेडक्रस, साथी संस्था र स्पेनिस अन्तर्राष्ट्रिय संस्थामा संलग्न रहँदै आएका थिए ।
विद्यालयको पठनपाठन कसरी प्रभावकारी बनाउन सकिन्छ ? कसरी पढाउँदा उपयुुक्त हुन्छ भन्ने तालिमहरु लिएर विद्यालयमा सिकाउने गरेको उनको अनुभव छ । माओबादी द्वन्द्वकालमा वल्र्ड भ्यू नेपालका अध्यक्ष शुभद्रा बेलवासेसँगको सहकार्यमा मानव अधिकार, बाल अधिकारका बारेमा तालिम लिई विद्यालयमा तालिम दिने काम पनि गरे जयकेशले ।
कहिले सुख कहिले दुःखसँग खेल्दै आएका उनको जीवनमा दुःखका दिनले प्रायः छोडेनन् । २०५२ सालमा शिक्षक सेवा आयोग दिएका उनको २०६० मा बल्ल परिणाम आयो तर उनी उक्त परीक्षामा अयोग्य ठहरिए । त्यस्तै उनले पारिवारिक दुःख धेरै झेले । पटक पटक बच्चा खेर गइरहेका बेला २०५० सालमा समय अगावै ७ महिनामै बच्चा जन्मियो तर एक घण्टा भित्रै उनको निधन भयो । विभिन्न डाक्टरहरुको सल्लाह अनुसार बच्चा नहुने जानकारी पाएपछि जयकेश र ईन्दुले सन्तानको आशा मारेर योग, ध्यान, धर्म कर्ममा समय बिताउन थाले ।
बुवाआमाको निधन र आफूहरु निःसन्तान भएपछि श्रीमतीसँगै बस्दै आएका जयकेश समाजिक संस्थाहरुसँग पनि आबद्ध थिए । नेपाल रेडक्रसमा २०४९ सालदेखि शिक्षक नायक भएर काम गरेका उनले २०६० देखि नेपाल रेडक्रस सोसाइटीको उपशाखा उपसभापति भएर हालसम्म पनि काम गरिरहेका छन् । २०५० देखि २०५६ सम्म साथी संस्थामा उनले परामर्शदाता भएर काम पनि गरे । २०८० देखि हालसम्म मध्यपश्चिम श्रष्ठा समाजमा सदस्य पदमा रहेर काम गरिरहेका उनले २०८० देखि हालसम्म उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको सदस्य पदमा रहेर काम गरिरहेका छन् ।
२०७३ र २०७७ सालमा राष्ट्रपतिबाट जनसेवा श्री पञ्चम पुरुस्कारबाट सम्मान, २०६७ र २०८० मा ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्रीबाट कदरपत्र सहित सम्मान, २०८१ असोज ३ गते संविधान दिवसको अवसरमा दान दातव्य दातामा सम्मान सहित कदर पत्र, फत्तेबाल आँखा अस्पताल, जडीबुटी व्यसायी संघ, दर्शन समाज, ओतारदेई कशौधन चौधराइन सेवा प्रतिष्ठान, लायन्स क्लब अफ नेपालगन्ज, मंगल प्रसाद माध्यमिक विद्यालय, नेपाल वन पैदावर उद्योग व्यवसाय संघ, नेपाल निवृत्त शिक्षक समाज बाँके, नेपाल अडिटर्स एशोसियसन बाँके, नेपालग रेडक्रस सोसाइटी, फत्तेबाल आँखा अस्पताल, भाइराजा स्मृति प्रतिष्ठान, कर्मचारी मिलन केन्द्र, नेपाल नेत्र ज्योति संघ बाँके, शास्वत आचार्य स्मृति प्रतिष्ठान, मध्यपश्चिम स्रष्टा समाज लागयतका विभिन्न सामाजिक संघ संस्थाबाट कदर पत्र सहित सम्मान प्राप्त गरेका छन् जयकेशले ।
आमा, बुवा, गुरु राष्ट्र र समाजको आफू सधै ऋणी भएको बताउने जयकेश लामो समय अध्यापन पेसा गरेर स्वास्थ्य समस्या कारण पेसाबाट उपदान लिएका व्यक्ति हुन् । शिक्षक मात्र नभएर उनी सामाजिक व्यक्तित्व पनि हुन् जसले आफूसँग भएको सम्पूर्ण जग्गा नेपाल सरकार र सामाजिक संस्थालाई दान गरेका छन् । दानवीरको पहिचान बनाएका उनले पुर्खाले आर्जेको पैतृक सम्पत्ति डुडुवा ६ मा रहेको ४ बिगाहा २ कट्ठा र ३००५ रुखसहित ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्रालयलाई दान गरेका छन् । जहाँ जयेन्दु बाल गृह सञ्चालनमा छ । जयकेश सिंह र ईन्दु सिंहको नामबाट जयेन्दु नामाकरण गरिएको उनको भनाइ छ ।
त्यस्तै सोही जग्गासँग जोडिएको १० कठ्ठा जग्गा, एक सय भन्दा बढी रुखहरु र दुईतले ४ कोठे एक घरसहित मानव सेवा आश्रमलाई उनले दान गरेका छन् ।
सुख भन्ने कुरा धन सम्पत्तिबाट नभई आफ्नो सकारात्मक सोच बिचारबाट मात्र प्राप्त हुने बताउँदै जयकेशले भने,‘सुख त्यहाँ हुन्छ जब यो जिन्दगीलाई सफर मान्नु पर्छ ।’
आफ्नो आम्दानीको श्रोत सम्पूर्ण जायजेथा दान गर्ने सोचबारे उनी यसो भन्छन्,‘हामी जन्मँदै ४ प्रकारका ऋण लिएर आएका हुन्छौं त्यसैले आफ्ना न्यूनतम सुविधा मात्र उपयोग गरेर ती ४ प्रकारका ऋण तिर्नु पर्छ । ती ऋणमा पितृ ऋण, राष्ट्र ऋण, देउऋषि ऋण र धर्म संस्कृति ऋण । यही ऋण तिर्न आफूले सम्पूर्ण जग्गासहितको सम्पत्ति दान गरेको हुँ ।’
शिक्षण पेसा र सामाजिक कार्यमा तल्लीन तर राजनीतिमा खासै रुचि नभएका जयकेशले एक दिन साथीसँगै २०६७ सालमा नेपाल सरकारका ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्री सर्वदेव ओझा (नेपालगन्ज आएको मौकामा) लाई भेटेका थिए । पहिलेनै चिनजान भएका मन्त्री सर्वदेव ओझा जसले जयकेशको श्रीमतीसँग राखी बाँध्दै आएका थिए । मन्त्रीसँगको भेटमा सामान्य कुराकानीपछि मन्त्रीज्यू लगायत बाल गृहका लागि खजुरा जग्गा हेर्न जान लागेका छौं भनेर हतारमा निस्कनै लाग्दा जयकेशले मन्त्रीज्यू हाम्रो गाउँमा पनि विकास गर्नुप¥यो भने । जवाफमा मन्त्री सर्वदेव ओझाले त्यहाँ जग्गानै छैन, कसले दिन्छ त्यत्तिका जग्गा, के विकास गर्ने भने ।
त्यहीँ बेला जयकेशले हौसिएर म दिन्छु तपार्इंलाई जमिन तर हाम्रो गाउँमा विकास हुनुप¥यो भने । जमिन दिने भन्दै सिंहले आफ्ना तीन सर्त राखे । पहिलो सर्त जमिन बाँझो राख्न भएन, दाश्रोे सर्तमा उक्त स्थानमा बन्ने संरचनामा हाम्रो परिवारको नाम हुनु प¥यो र तेस्रो सर्तमा हामीलाई बुढेसकालमा दाल रोटी बिना मर्न नपरोस् । यति भनेपछि मन्त्रीले हुन्छ हामी सर्त मान्न तयार छौं तर जयकेश जी तपाईंले मात्र भनेर भएन तपाईंको आमा, बुवा र श्रीमतीको पनि सहमति हुनु प¥यो भने । त्यसपछि हुन्छ सहमति म गराउँछु भनेर घर गए अनि बुवा, आमा श्रीमतीलाई सोधे बुवाले भन्नुभयो,‘बाबु तिम्रो बुवालाई कसैले पनि चिन्दैनन् तर तिम्रो नाम सबै ठाउँ चिनाउने काम गर बाबु, तिम्रो इच्छा भएको काम गर भनेपछि जयकेशले मन्त्रीलाई खबर गरे र तुरुन्तै मन्त्रालयका सचिव महेन्द्रराज श्रेष्ठको टोली सहित आएर जमिन हेरफेर गरेर सम्झौता पत्र बनाएर काम शुरु गरे । सम्झौतामा नेपाल सरकारले जयकेशको परिवारलाई वार्षिक एक लाख ४४ हजारका दरले दुई दुई वर्षमा १० प्रतिशतले वृद्धि हुने सर्तमा ज्येष्ठ नागरिक महिला तथा बालबालिका मन्त्रालयले उक्त ठाउँमा बालगुह सञ्चालन गरेको छ भने जसको नाम जयेन्दु बालगृह रहेको छ ।
आफ्नै मन वचन र कर्ममा साथ अगाडी बढ्दै गर्दा कसैलाई पनि कष्ट नपुगोस् भन्ने भावनाबाट ओतप्रोत छन् ।
सम्पूर्ण जायजेथा नेपाल सरकार र मानव सेवा आश्रमलाई दान गरी सकेका जयकेश र उनको धर्मपत्नी ईन्दु सिंह चनरबाहिनीस्थित निवासमा बस्दै आएका छन् भने निःसन्तान उनको परिवारको रेखदेखको लागि घरमा सहयोगी राखेका छन् । आफूले पढाएका विद्यार्थीहरु अहिले विभिन्न ओहोदामा पुगेका छन् । भेट हुँदा गुरु सम्झेर आदर सत्कार गर्दा निकै मन आनन्दित हुने गरेको जयकेश बताउँछन् ।
आफ्नो सम्पूर्ण जायजेथा दान गरिसकेका जयकेशले आफूले कमाएको सम्पत्ति जनकल्याणमा समर्पित गर्नु उनी आफ्नो दायित्व सम्झन्छन् । उनी जस्ता कर्मवीरहरुबाट अरुले उत्प्रेरणा लिन सक्नु पर्दछ ।