कैलाली ,२५ माघ/
कैलालीको गौरीगङ्गा साझेदारी वनबाट छपान भएको ढलापडा रुख चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगङ्गा नगरपालिका ७ का ५४ बर्षीय सिताराम चौधरी, ५१ बर्षीय दिनेश चौधरी र ४१ वर्षीय निर्मल डगौरा थारु रहेको सव डिभिजन वन कार्यालय मसुरीयाका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले जानकारी दिनुभयो ।
साझेदारी वनका वन हेरालुहरुले नियमित गस्ती गर्ने क्रममा छपान गरिएको साल जातको ढलापडा रुख नं.२५९ चोरी कटानी गरेको फेला पारेका थिए ।
चोरी भएको काठ खोजतलासका क्रममा गौरीगङ्गा ७ मट्कौना गाउँमा पक्राउ परेका व्यक्तिहरुले खर परालले लुकाइ छिपाइ राखेको अवस्थामा फेला परेको गौरीगङ्गा साझेदारी वनका कार्यालय सचिव डिल बहादुर बोहराले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय कैलालीका वन कर्मचारी र इलाका प्रहरी कार्यालय मसुरीयाको प्रहरी टोलीले लुकाई छिपाई राखेको अवस्थामा ५७.०८ क्यू.फिट सालका चार थान गोलिया काठ बरामद गरेको थियो ।
उक्त काठ चोरीमा संलग्नहरूलाई पक्राउ गरी वन ऐन अनुसार आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कैलालीमा पठाइएको वन अधिकृत पण्डितले जानकारी दिनुभयो ।