हरि प्रसाद सुबेदी
गैससकर्मी, नेपालगञ्ज
१. तपाईको जीवनको आदर्श के हो ?
– सत्यतामा अडिग रहनु, इमान्दारितापूर्वक योजनाबद्धरुपमा काम गरेर नयाँ ज्ञान तथा सीप सिक्नु र समयसापेक्ष आफूलाई निखार्दै लैजानु ।
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– एकातिर घरको गरिबी र आर्थिक अभावले आफै केही गर्नुपर्छ भन्ने हुटहुटी अनि प्रविणता प्रमाण पत्र तह पढ्दै गर्दा लिखित योजना बनाएर सो अनुरुप काम गर्दै अघि बढ्नु पर्छ भन्ने सिकाइ मलाई उत्प्रेरित गर्ने तत्व हुन् । स्वयंको दृढ संकल्प र लिखित ब्यक्तिगत तथा पारिवारिक योजनाहरु कार्यान्वयनबाट प्राप्त सफलताले मलाई नयाँ नयाँ लक्ष्य लिइ निरन्तर अघि बढन उत्प्रेरित गरिरहे । अहिले मैले मेरो परिवारको पाँचौ पञ्चबर्षीय योजना कार्यान्वयन गरिरहेको छु जसले हरेक दिन लक्ष्य चुम्न उत्प्रेरित गरिरहेको छ, यहाँ पुर्याएको छ । व्यक्तिहरु त मन र पेट फरक भएका, उत्प्रेरित गर्ने भन्दा निरुत्साहित गर्ने धेरै भेटेको छु ।
३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– तालिम र शिक्षणका माध्यमबाट मैले जानेको ज्ञान तथा सीप नयाँ पुस्तामा हस्तान्तरण गरिरहेको छु । बिभिन्न क्षेत्रको अनुसन्धान गरेर प्राप्त निष्कर्षका आधारमा सरकारी र गैरसरकारी संस्थाहरुको नीति र योजनाहरु बनाएर नयाँ–नयाँ बिषयमा उनीहरुको समेत क्षमता विकासका लागि कार्य गरिरहेको छु । त्यसैगरी समाज सेवा गर्न स्थापित गैरसरकारी संस्थाहरुकालागि बिभिन्न परियोजना प्रस्तावहरु लेखेर समाज सेवामा सक्रिय गराइरहेको छु । साथै आफ्नो सामाजिक जिम्मेवारी सम्झेर विदेश पलायन रोकथाम गर्न शिक्षक, कर्मचारी, युवा र विद्यार्थीहरुकालागि उत्प्रेरणा कक्षा पनि सञ्चालन गरिरहेको छु ।
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– वि.सं. २०५१ देखि काम गरेका संस्थामा अप्ठेरो काम गर्न परे सम्झने, प्राप्त अवसरमा आफ्ना वा चिप्ला कुरा गर्ने मान्छे भर्ने समाज सेवाको खोल ओढेर स्वार्थ पुरा गर्न खप्पिसहरुको व्यवहार मेरालागि अविस्मरणीय छन् । त्यसैगरी उनीहरुको त्यस्तो व्यवहारको मुकावला गर्दै अघि बढेर प्राप्त गरेका सफलता नि उत्तिकै अविस्मरणीय छन् ।
५. तपाईको बुझाइमा असल शासन भनेको के हो ?
– स्वयंलाई अनुशासनमा राख्नु । मनैदेखि अरुको भलो चिताएर सबैलाई समान व्यवहार गर्नु असल शासन हो । यो घर, कार्यालय र सरकार सञ्चालकहरुको व्यवहारमा देखिनु पर्दछ ।
६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– युवाहरुलाई जीवनको लक्ष्य निर्धारण गर्न सहजीकरण गरी स्वयंको योजना बनाउन सिकाउने । पहिचान गरिएका अवसरबाट रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्न स्थानीय सरकार र संघसंस्थाहरु समक्ष पैरवी गर्ने र आवश्यक सहयोग गर्ने । उनीहरुले नसके युवा र जनताको साथ लिई ‘गरे संम्भव छ’ भन्ने कुरा गरेरै देखाउने ।











