बन्यजन्तु र मानब बिचको द्वन्द्वलाई न्यूनीकरण गर्न सचेतना जगाउने प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बन्यजन्तु र मानब बिचको द्वन्द्वलाई न्यूनीकरण गर्न सचेतना जगाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

डिभिजन बन कार्यालयको सहयोग, बास नेपालको आयोजनामा माघ २८ गते राप्तीसोनारीको फत्तेपुर ढलैयामा सम्पन्न जैबिक चौतारीको माध्यमबाट संरक्षणको सवाल, चुनौती तथा अवसर सम्वन्धि छलफल तथा सम्बाद कार्यक्रममा सरोकारवालाहरुले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

फत्तेपुरका दुई जनाले बाघको आक्रमणबाट निधन भईसकेको उल्लेख गर्दै सरोकारवालाहरुले सचेतना जगाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष लबराज खरेलले फत्तेपुरमा रहेको बनहरुको प्रभावकारी संरक्षणका कारण बन्यजन्तुहरु बृद्धि भएको उल्लेख गर्दै बन्यजन्तुहरुलाई चोरीशिकारी गर्नेहरुबाट बचाउन र बन्यजन्तुहरुको आक्रमणबाट नागरिकहरु जोगाउन चुनौती रहेको बताए ।

उनले बाघको आक्रमणबाट निधन हुने व्यक्तिहरुले पाउने १० लाख क्षतिपूर्ति बढाएर २५ लाख बनाउने माग आफुले गरिरहेको बताए । उनले आम वडाबासीहरुलाई बनमा व्यापक रुपमा भेटिने गरेका अजिँगर सर्पहरुबाट बच्न आह्वान गरे । उनले सदाबहार सामुदायिक बन क्षेत्रमा रहेको नाग्राफललाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न लागेको बताए ।

कार्यक्रममा सबडिभिजन बन कार्यालय राप्तीसोनारीका गया प्रसाद करिया बयुवाले मण्डफवा सामुदायिक बनको अतिक्रमण हटाउनका लागि आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा टोल बिकास समितिका तिलक बहादुर चन्द, राप्तीपीडित तथा गुलरि सामुदायिक बन उपभोक्ता समूह राप्तीसोनारी ६ का सचिव मदन सिंह थारु, सदाबहार सामुदायिक बन उपभोक्ता समूहकी सचिव लक्ष्मी घर्ति मगर, समयभवानी सामुदायिक बन उपभोक्ता समूह राप्तीसोनारी ५ का अध्यक्ष भोला थारु, सिद्धबाबा सामुदायिक बन उपभोक्ता समूह राप्तीसोनारी ६ का सचिव बाधुराम थारु, खप्तडबाबा सामुदायिक बन उपभोक्ता समूह सचिव सावित्रि चौधरी, मण्डफवा सामुदायिक बन उपभोक्ता समूहका सचिव मुनिर खाँ, भगवती सामुदायिक बन उपभोक्ता समूहका हरिराम थारु लगायतले बनसँग सम्बन्धित बिभिन्न सवालहरु बारे बोलेका थिए ।

कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेका थिए ।

  • २८ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech