हात्तिपाईलेको जोखिममा बाँके

तीन पालिकाहरुमा औषधि खुवाईंदै

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ हात्तीपाइले रोगका बाँके जिल्ला उच्च जोखिममा छ ।

नेपालका ७६ जिल्ला हात्तिपाईले मुक्त भईरहँदा बाँके जिल्ला जोखिममा रहन गएको हो ।

हात्तिपाईले निवारणका लागि आइडिए इम्प्याक्ट सर्भेमा बाँकेका तीन वटा पालिका अनुतिर्ण भएपछि बाँके जोखिमको सुचिमा दज भएको छ ।
सर्भेमा नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका आइडिए इम्प्याक्ट सर्भेमा अनुतिर्ण भएका छन् । यी पालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त पहलमा बाँकेका आठवटै पालिकामा मंसिर ११ गतेबाट २८ गतेसम्म सर्भेको काम भएको थियो । बाँकेलाई दुई कलष्टरमा बाँडेर सर्भेको काम गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई कलष्टर ‘ए’ बनाइएको थियो भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई कलष्टर ‘बि’ बनाइएको थियो । कलष्टर ‘ए’ फेल भएपनि कलष्टर ‘बि’ भने आइडिए इम्प्याक्ट सर्भेमा उर्तिण भएको छ । अव कलष्टर ‘बि’ मा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान रोएिको छ ।

बैजनाथ गाउँपालिकाको वडा नं.४ र जानकी गाउँपालिकाको वडा नं.१ र ३ मा पोजेटिभ देखिएका छन् । बैजनाथ ४ मा ३ जना, जानकी गाउँपालिका १ र ३ मा २ २ जनामा पोजेटिभ देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ३८२ घरधुरीका १ हजार २१८ जनाको स्याम्पल जाँच गर्दा १९ जना, डुडुवा गाउँपालिकामा ११४ घरधुरीका ३५१ जनाको स्याम्पल जाँच गर्दा ८ जना र नरैनापुर गाउँपालिकाको ९९ घरधुरीको ३३१ जनाको स्याम्पल जाँच गर्दा ७ जनागरी ३४ जनामा हात्तीपाइले पुष्टि भएको छ ।

यदि दुई वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधि सेवन कार्य रोकिन्छ । तर तीनभन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः औषधि सेवन गर्नुपर्ने हुन्छ । कलष्टर ‘ए’ मा स्याम्पल जाँच गरिएकामध्ये ९ जना भन्दा कममा माइक्रोफाइलेरिया पोजेटिभ देखिएको भए औषधि सेवन गर्ने काम रोकिन्थ्यो । तर ३४ जनामा माइक्रोफाइलेरिया पोजेटिभ देखिएपछि यहाँ हात्तीपाइले रोगको अवस्था भयावह देखिएको छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधि नखाइदिएका कारण १३ वर्षदेखि निरन्तर औषधि खुवाउने अभियान सञ्चालन भईरहेको छ । स्थानीयहरुले औषधि सेवन गर्न इन्कार गर्ने गरेका छन् ।

उनीहरुले औषधि सेवन नगरिदिने गरेका कारण सबै समुदायनै हात्तीपाइले रोगको जोखिममा परिरहेको छ । औषधि खानेले निरन्तर खाइरहने र नखानेले एक पटक पनि औषधि नखाइदिएका कारण ६ वर्षमा सकिनुपर्ने यो अभियान १३ वर्ष पुग्दा पनि सकिएको छैन ।

फाल्गुण ५ देखि औषधि खुवाईदै
हात्तिपाईले रोग बिरुद्ध फागुन ५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुँदैछ । १३ पटकसम्म औषधि खुवाउने अभियान चलाउँदा समेत समस्या देखिएपछि१४औं पटक औषधि खुवाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा फागुन ५ तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए ।

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमबारे पत्रकारसंग बुधवार सम्पन्न अन्तरक्रिया कार्यक्रममा शाहीले समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताउँदै सबै मिलेर हात्तिपाईले रोग निवारणका लागि काम गर्न आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय बाँकेकी अधिकृत दुर्गा गौतमका अनुसार, बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ । नेपालगञ्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १ सय ७४ जना र नरैनापुरमा ४२ हजार ३ सय ६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९ सय ६२ जना गरी जम्मा २ लाख ५७ हजार ६ सय १ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.५ प्रतिशतसम्म प्रिभेलेन्स (ब्यापकता) देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले बताए । सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताए ।

अध्ययन अनुसार, बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि नै खाएका छैनन् । नेपालगञ्जउपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ । सर्वेक्षण अनुसार ३३.२८ प्रतिशत मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतिका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको हातेमालोमा जोड दिएका थिए ।

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ बर्षसम्म रोग अरुलाई सर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

  • ३० माघ २०८१, बुधबार प्रकाशित

  • Nabintech