देशभरका शिक्षक यतिबेला काठमाडौँ केन्द्रित आन्दोलनमा ब्यस्त छन् । शिक्षकहरूको वृत्ति विकास, सेवा सुरक्षा र समग्र शैक्षिक गुणस्तर सुधार गर्ने लगायतका मागहरु उठाउदै शिक्षकहरु आन्दोलित छन् । शिक्षकले उठाएका मागले शिक्षा क्षेत्रमा गहिरो बहस सिर्जना गरेको छ।
आन्दोलनरत शिक्षकहरूले अस्थायी शिक्षकको स्थायीकरण, राहत शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यालय कर्मचारीको स्थायित्व, प्रारम्भिक बाल शिक्षाको व्यवस्थित प्रावधान, कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन, शिक्षकको पेन्सन र तलबमानमा सुधार लगायतका माग राखेका छन् । शिक्षकहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने देखिएको छ । ‘उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको भएपनि परीक्षण कार्य सुरु भएको छैन, जस्का कारण नतिजामा ढिलाइ हुने निश्चित छ ।
शिक्षकमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ । विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान समेत रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित छ ।