देश बनाउन पनि विदेश नगई नहुने भो हजुर !!

असल शासन प्रतिनिधि

आज बिहान त्रिभुवन विमानस्थलबाट पठाओ ट्याक्सीमा महाराजगन्ज आउँदै थिएँ । डोमेस्टिक अराइभलबाट अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरअगाडि पुग्दा त्यहाँ हातहातमा गुन्टा बोकेका मान्छेहरूको घुइँचो देखियो । त्यो भींड देखेर ट्याक्सी ड्राइभर जसको नाम शुशाङ्क माझी थियो, बोले-

‘हजुर यहाँ त जहिले पनि मेला लागेजस्तो हुन्छ ।’
अपरिचित मान्छेसंग प्रायः खुल्न नचाहने म उनको हावभाव देखेपछि मलाई पनि बोल्न मन लाग्यो । मैले भनें- दिनमा ४-५ हजार त जान्छन् होला है विदेश !!’

‘त्यतिले के पुगोस् ?’ उनले भने ।
‘कति त ७-८ हजार ?’ मैले सङ्ख्या थपें ।
‘हैन हजुर चौबिसै घण्टा यस्तै भींड हो । १५- २० हजार पुग्छ होला ।’
‘हो र ? १५-२० हजार ?’ म आश्चर्यचकित भएँ ।
‘सरलाई त केई था रहेनछ त । सधैं यस्तै हो बाहिर जानेको भींड । १५- २० हजार जान्छन् हजुर डेली ।’

‘नेपालमा त अब मान्छे नै नहुने भए त है भाइ ?’ मैले भनें ।
‘किन बसुन् त हजुर ? के का लागि बसुन् ? नेता नभई केही हुँदैन । आफ्नो नेता नभई सिन्को नभाँचिने भै सक्यो । पढिलेखी के गर्नु ? कि आफ्नो नेता हुनु पर्यो, नत्र तीनको झोला बोक्नु पर्यो । यी दुबै छैन भने न जाँगिर छ, न भविष्य छ ।’ उनी निरास अनुहार लगाएर बोले ।’
‘भाइ त यतै खुसी हुनुहुन्छ हैन ?’

‘के खुसी हुनु र ? चारपाँच वर्ष भयो यो ट्याक्सी चलाएको । एक पैंसा जोगाउन सकेको होईन । म पनि विदेश गएर ४-५ वर्ष काम गरेर आउँ कि भनि सोच्तै छु ।’

विमास्थलको गेटबाट ट्याक्सी दायाँतिर मोड्दै उनले भने ।
‘घरमा को को छन् भाइको ?’
‘म, मेरो परिवार, सानो छोरो र आमा छौं ।’
‘ट्याक्सीको कमाईले पुग्छ होला नी । किन जाने विदेश ?

‘ट्याक्सी मालिकलाई दैनिक रू. ३५००/- दिनु पर्छ । पठाओले हजार रूपैंया उठ्दा २०० रूपैया लिन्छ । यति गर्दा पनि महिनामा ४०-५० हजार बच्छ । घर भाँडा, खाना खर्च, आमाको औषधी, छोरोका स्कुल खर्च आदि कटाउँदा महिनाको पाँच हजार पनि बच्दैन । आफ्नै ट्याक्सी बनाउँ भन्ने सोचेको, तर यस्तै ट्याक्सी किन्ने हो भने ४८ लाख पर्छ । कहाँबाट ल्याउँ यत्रो पैंसा ? सेकेन्ड ह्यान्ड किनुँ भने पनि पैंसा छैन । आफ्नो ट्याक्सी भएको भए महिनाको कम्तिमा डेढ लाख त हुन्थ्यो हजुर ।’

‘तपाईंको उमेर कति भयो ?’
‘मेरो उमेर ३४ वर्ष भयो । चालिस नपुग्दै विदेश हान्निउँ भन्ने सोचि रा छु हजुर । मेरो विचारमा उमेर बिस पुग्यो भने विदेश गएर चालिस वर्ष पुगुन्जेल टन्न पैंसा कमाउनु पर्ने रैछ । त्यसपछि आफ्नो देश फर्क्यो, घर लगायो, अनि मस्तले बस्यो ।’

‘यस्तै सोच्नु भएको छ ?’ मैले सोधें ।
‘सोचेको छु । किन नसोच्नु हजुर । यी नेताले हामीजस्ता मान्छेका पनि सपना हुन्छन् भन्ने ठान्दैनन् । त्यसैले देश बिग्रयो हजुर । जतातै भद्रगोल छ । जताततै आन्दोलन छ । कसैले कसैको कुरो सुन्दैन ।’ यति भन्दै उनले लामो सास फेरे ।

‘हो नि बबरमहलतिर शिक्षकहरूको आन्दोलन पनि भईरा छ ।’ मैले भनें ।

‘कति दिन भैसक्यो त्यो आन्दोलन भएको । सरकार तीनको कुरो सुन्दैन । हिंजो त पुलिसले बेस्मारी चुटेछ मास्टरहरूलाई । पुलिस पनि के गरून् हजुर, जागिर खाएकै चुट्नलाई, नचुटि के गरून् र ? नचुटे तीन्को पनि जागिर चट् ।’ पुलिस र मास्टर दुबैका समस्याप्रति सहानुभूति देखाए उनले ।

‘भाइहरूजस्तो युवा मान्छे, देशमै रहेर देश बनाउने हो ।’ मैले उनको विचार जान्न चाहें ।

‘हामीजस्ता मान्छेले कसरी देश बनाउने हजुर । आफ्नो परिवार पाल्न नसक्नेले कसरी देश बनाउँछ ? देश बनाउन पनि विदेश नगई नहुने भो त हजुर !!’

उनका सामान्य कुराहरूमा देशको वर्तमान अवस्था प्रतिविम्बित भइरहेको थियो । उनका मुखबाट लाखौं नेपाली युवाहरूको चित्कार सुनिरहेको थिएँ । त्यसपछि म केही बोल्न सकिन ।

  • १५ बैशाख २०८२, सोमबार प्रकाशित

  • Nabintech