नेपालगन्ज/ बागलुङ जिल्लाको तारखोला गाउँपालिका–३ स्थित भुस्कात गाउँमा एक हृदयविदारक घटना घटेको छ, जसले अहिले सामाजिक सञ्जाललाई भावुक बनाइरहेको छ।
गएको वैशाख १७ गते राति करिब ११:३० बजेतिर माया बिकको गोठमा अचानक आगलागी भयो ।
गोठभित्र गर्भवती काली भैंसी र उसको डेढ वर्षको राँगो थुनिएको थियो । आगलागी यति तीव्र थियो कि राँगो तुरुन्तै जलेर मृत्यु भयो, तर भैंसी भने गम्भीर रूपमा घाइते भएर जिउँदै बचिन् ।
भैंसीको अवस्था अत्यन्तै पीडादायक थियो। उसका छाला पूरै जलेका थिए, दुवै आँखा फुटेका थिए, मुखबाट फिँज निस्किरहेको थियो। न ऊ कराउन सक्थी, न केही खान सक्थी, न त सुस्ताउन नै सक्थी । त्यो दृश्य हेर्नसमेत नसकिने थियो ।
सामाजिक सञ्जालमा मायाका कान्छा छोरा सनम विकले भिडियो सेयर गर्दै लेखेका छन्, “उनी पनि एउटी आमा हुन्, उनको श्राप र आँशु लाग्नेछ।” यो पोस्टसँगै हजारौं मानिसहरू भावुक बनेका छन् र उक्त निर्दोष जनावरप्रति सहानुभूति प्रकट गरेका छन् ।
चिकित्सकको सल्लाहमा भैंसीलाई ‘युथोनाईज’ गरिएको हो। ‘युथोनाईज’ भन्नाले कुनै पनि प्राणीलाई पीडारहित तरिकाले मृत्युदिनु हो, ताकि उसले अत्यधिक कष्ट भोग्न नपरोस् । गर्भवती अवस्थामा रहेको उक्त भैंसीले कति पीडा सहेको होला भन्ने कुराले धेरैको मन पग्लिएको छ। यो घटना केवल आगलागीको पीडा मात्र होइन, जनावरप्रतिको हाम्रो दायित्व र संवेदनशीलताको प्रश्न पनि हो।