दुई दिनदेखि बेपत्ता टन्डन हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए

असल शासन प्रतिनिधि

दुई दिनदेखि बेपत्ता रूपन्देहीको तिलोत्तमा–२ शंकरनगरका गोपाल टन्डन मृत अवस्थामा भेटिएका छन् । उनी लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सहित आइतबारदेखि बेपत्ता थिए ।

उनको परिवारले खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए । हराएको निवेदन परेसँगै प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो ।
खोजीको क्रममा २० वर्षका टन्डन बुटवल उपमहानगरपालिका(११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकल सहित मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा टन्डन मोटरसाइकलसहित मृत भेटिएका हुन् । रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल चलाउदा टन्डनको खाल्डोमा परेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार टन्डनको शव र उनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सोमबार बिहान फेला परेको बताइएको छ । ‘टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

  • २२ बैशाख २०८२, सोमबार प्रकाशित

  • Nabintech