पाल्पा /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएका स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर सरकारले विशेष ध्यान दिएको बताएका छन् ।
पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको बताएका हुन् । २
‘घुम्न जाऔं बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढ्दो क्रममा रहेको जानकारी दिए । मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए । समाजमा बढ्दो अराजकताको कारण औंल्याउँदै उनले असल संस्कार, संस्कृति र मूल्य मान्यताहरूको जगेर्ना गर्न जरुरी रहेको धारणा राखे ।
मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखे। लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उहाँले विभिन्न जिल्लाहरूका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्व जगतमा पुर्याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पारे ।
नेपालका चार प्रमुख धार्मिक धामहरूमध्ये एक रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ को अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा विविध धार्मिक, सांस्कृतिक तथा पर्यटनमूलक कार्यक्रमहरू समावेश गरिएका छन् । ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा भइ पर्यटनको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।