बाँकेको बैजनाथमा बालवालिकाहरुका लागि दुई दिने तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज / बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरौं भन्ने मूल अभिप्राय का साथ बालक्लबका बालबालिकाहरूको लागि बालअधिकार, नेतृत्व विकास तथा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ।
आज सम्पन्न तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले सबै वडाका बालवालिकाको सहभागितामा भएको तालिमले बाल क्लबको सशक्तिकरणमा टेवा पुर्याउने विश्वास ब्यक्त गरे । तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न उनले सहभागिहरुलाई अनुरोध गरेका थिए । अहिलेको समय डिजिटल समय भएकाले प्रविधिको सहि रुपमा प्रयोग गरि लाभ लिन उनले सहभागि वालवालिकाहरुलाई अनुराध गरे । उनले आगामी दिनमा समेत गाउँपालिकाले बाल क्लबको सशक्तिकरणमा थप कार्य गर्ने प्रतिबद्धता गरे ।


यसैगरी कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका सामाजिक विकास समिति सदस्य तथा वडा नम्बर ८ का सदस्य धिरेन्द्र सिंह ठकुरीले सहभागिलाई तालिमबाट सिकेको कुरा वडामा गई कार्यान्वयनमा ल्याउन अनुरोध गरे । यसैगरी गाउँ कार्यपालिका सदस्य कृष्णा सुनारले पहिलो पटक ८ ओटै वडाका बालवालिकाहरुको सहभागितामा तालिम गर्न सफल भएकोमा खुसी लागेको बताईन । उनले बाल क्लबका वालिकाहरुका लागि थप कार्य गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता गरिन् । तालिममा वडा नम्बर ६ का अध्यक्ष देब बहादुर रावतको उपस्थिती रहेको थियो ।


बैजनाथ गाउँपालिकाका सबै वडाका बालवालिकाहरुको सहभागिता रहेको तालिममा बाल अधिकार, नेतृत्व विकास तथा मानसिक स्वास्थ्यका विभिन्न बिषयमा इरा रिसर्च एण्ड डेभलपमेन्टका रिसोर्स समन्वयकर्ता ध्रुव जंग शाह र बासका निर्देशक हेमराज भट्टले प्रशिक्षण गरेका थिए ।
तालिम बाट गाउँपालिकाको आठ ओटै वडाको छुट्टा छुट्टै कार्ययोजना तयार गरिएको छ । बैजनाथ गाउँपालिकाको सहयोग तथा इरा रिसर्च एण्ड डेभलपमेन्ट प्रालिको आयोजनामा भएको तालिममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन इरा रिसर्च एण्ड डेभलपमेन्टका कार्यक्रम संयोजक दिपिका रोकायाले गरेका थिए । तालिममा ४५ बढी बालवालिकाहरुको सहभागिता रहेको थियो । पहिलो पटक यस्तो तालिममा सहभागि भएको र तालिमबाट बाल अधिकार, नेतृत्व विकास र मानसिक स्वास्थ्यका बिषयमा जानकारी हासिल भएको सहभागिहरुले प्रतिक्रिया दिएका थिए । उनीहरुले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरेका छन् ।

  • २७ बैशाख २०८२, शनिबार प्रकाशित

  • Nabintech