कोहलपुर नगरपालिकाको सामाजिक परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण अन्तरगत प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । बास नेपालको सहजिकरणमा गरिएको सामाजिक परीक्षण अन्र्तगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतिकरण कार्यक्रम २०८२ असार २४ गते सम्पन्न भएको हो ।
स्थानीय सरकारले हरेक आर्थिक बर्षमा सम्पादन गरेका कार्यक्रम र त्यसको सामाजिक उपलब्धि तथा कार्यसम्पादनको लेखाजोखाका लागि बर्षमा एक पटक सामाजिक परिक्षण गर्नु पर्ने प्राबधानलाई कार्यन्वयन गर्न, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद १० को दफा ७८ को उपदफा ५ बमोजिम एक आर्थिक बर्षमा समग्र सामाजिक जिम्मेवारी पुरा गरे नगरेको सम्बन्धमा लेखाजोखा गर्न, सामाजिक जिम्मेवारी, त्यसलाई पालना गर्न भएको प्रयास तथा कार्य सम्पादनको लेखाजोखा गर्ने प्रक्रियालाई कार्यन्वयन गर्नका कोहलपुर नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ मा सम्पन्न भएको योजना तथा कार्यक्रमको सामाजिक परीक्षण भएको हो ।


बास नेपालका कार्यक्रम प्रबन्धक तथा सामाजिक परीक्षक मन भण्डारीले सामाजिक परीक्षणको क्रममा गरिएको सन्दर्भ सामाग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रित छलफल, संकलन, सूचनाहरुको संकलन तथा विश्लेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार गरिएको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रारम्भिक प्रतिवेदन प्रस्तुत पछि खुला छलफल भएको थियो । पालिकाका राम्रा अभ्यासहरु, मुख्य उपलब्धिहरु, समस्या तथा चुनौतीहरु, पालिकाले आगामी दिनमा ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरु प्रतिवेदनमा उल्लेख गरिएको थियो ।


प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सिता कार्कीले सामाजिक परीक्षणबाट प्राप्त तथ्यहरु र सुझाबलाई आधारमा नगरपालिकाले आगामी योजना तर्जुमा गर्नुपर्ने उल्लेख गर्नु भएको थियो । कोहलपुर नगरपालिकाले मुख्य उपलब्धि र असल अभ्यासहरु प्रतिवेदनमा उल्लेख भएको बताउदै सामाजिक परीक्षणले औल्याएका सुझावहरुलाइ कार्यान्वयनमा नगरपालिकाले ध्यान दिनुपर्ने उपप्रमुख कार्कीको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले सामाजिक परीक्षणका माध्यमबाट नगरपालिकालाई महत्वपूर्ण सुझाव प्राप्त भएको बताउनु भयो । यस्ता बिधिहरुले स्थानीय सरकारको सेवा, योजना र कार्यक्रमको पारदर्शिता, जवाफदेहीता र सुशासन कायम गर्न मदत गर्ने र सेवाप्रदायकलाई थप जिम्मेवार बनाउने गिरीको भनाइ थियो । पालिकाले धेरै कामहरु गरेको भएपनि अभिलेखिकरणमा समस्या भएको बताउदै उनले आगामी दिनमा कामको अभिलेखिकरणमा विशेष जोड दिन कर्मचारीहरुलाइ निर्देशन दिएका थिए । प्राप्त सुझावहरुलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरी पालिकामा पेश गर्नुपर्ने कुरामा जोड दिदै प्रतिवेदनले औल्याएका सुझावको कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण कार्यक्रम बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि शाखा प्रमुखहरु, गैसस प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

  • २४ असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech