शारदा नगरपालिकाको अन्तिम सार्वजनीक सुनुवाइ सम्पन्न

असल शासन प्रतिनिधि

सल्यान/ शारदा नगरपालिका सल्यानको आर्थिक बर्ष २०८१/०८२ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
शारदा नगरपालिका सल्यानको आयोजना र बास नेपालको सहजीकरणमा शारदा नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारीता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रम २०८२ असार २६ गते श्री त्रिभुवन जनता माबि मार्केमा सम्पन्न भएको हो ।

सार्बजनिक सुनुवाईमा सहभागीहरुले खानेपानीको समस्या रहेको, शिक्षक दरबन्दीको अभावमा बिद्यालयमा पठनपाठनमा समस्या रहेका, बिद्यालयमा बिज्ञान प्रयोगशालाको आवशयक भएको, नागरिकहरको गुनासोहरु सहितको समस्याको निबेदन वडामा पेश गर्दा पनि सुनुवाई नहुने गरेको, जेष्ठ नागरिक खेलकुद कार्यक्रमहरु सबै वडाहरुमा सञ्चालन नभएको, पालिकामा खेलकुद कार्यक्रमहरु सञ्चालन हुनुपर्ने, बिद्यालयहरुमा पालिकाहरुबाट अनुगमन नहुने गरेको, युवा विदेश पलायन हुन थालेको लगायतका प्रश्न तथा समस्या उठान गरेका थिए ।

सहभागीहरुले गरेका प्रश्नको जवाफ दिदै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले आफ्नो पालिकामा बसोबास गर्ने हरेक नागरिकहरुको समस्याहरु आफुले नजिकबाट हेर्ने गरेको र नागरिकहरुको समस्या समाधान गर्न आफु दिन रात नभनी लागि परेको बताए । नगर प्रमुख भण्डारीले पालिकाले गरेका हरेक कामहरुको मुल्याँकन जनताहरले गर्नुपर्ने र सचेत नागरिकहरुको हिसावले हामीले गरेका कामहरु प्रति चित्त नबुझेमा आफ्नै भाई छोरा सम्झी सल्लाह सुझाव दिन अनुरोध गरेका थिए । नगरपालिकाको समग्र विकासका लागि अन्य पालिका, प्रदेश देखि केन्द्र सम्म हारगुहार गरीरहेको बताउदै शिक्षा, स्वास्थ्य, खानेपानी, बिधुत लगायतको क्षेत्रमा उल्लेखनिय कामहरु पालिकाले गरेको भण्डारीको भनाइ थियो । पालिका भित्र वसोवास गर्ने कुनैपनी नागरिकलाइ समस्या पर्दा आँशु पुछ्न का लागि तयार छौँ भण्डारीले भने “जुनसुकै समयमा निर्धक्क भएर समस्या लिएर आउनुहोस पालिकाले सक्ने सहयोग गर्न तयार छ ।”

सहभागिहरुको प्रश्नको जवाफ दिदै शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकास देवकोटाले जनताकै सेवामा जनप्रतिनिधिहरु र कर्मचारीहरु लागिपरेकाले बिस्तारै नागरिकहरुको समस्या समाधान हुदै जाने बताए । नीयम, कानुन भित्र रहेर आम नागरिकहरुलाइ प्रत्याभुती हुने गरी सेवा प्रवाह गरिरहेको बताउदै नीयम भन्दा बाहिर गएर काम गर्ने र गराउने तर्फ नलाग्न आम नागरिकहरु समेत सचेत हुनुपर्ने देवकोटाको भनाइ थियो ।

३ घण्टा सम्म चलेको कार्यक्रममा सरोकारवालाहरुको रुपमा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा, प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, बडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । २ सय जनाको उपस्थिति रहेको कार्यक्रमको अन्तिममा ७ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषण गरिएको छ ।

प्रतिबद्धताहरुमा शारदा प्राविमा लामो समयदेखि शिक्षक दरवन्दी खाली गुनासो आएकोमा विविध कारणले परीक्षा गराउन ढिलाई भएको महशुष गर्दै तत्काल परीक्षा गराएर समस्या समाधान गर्ने, पालीका भित्र रहेको खानेपानीको समस्या समाधान का लागि जर्खु खानेपानी आयोजना सञ्चालन भएको र यथाशिघ्र खाने पानी सबै टोल र गाउँ सम्म पु¥याउने, जेष्ठ नागरिकको खेलकुद कार्यक्रम वडा नं ८ मा पालिका बाट नभएको गुनासोमा जेष्ठ नागरिकहरूको हितमा पालिका सचेत भई लागि परेको र सबै वडामा उहाँहरूलाई लक्षित गरी खेलकुद कार्यक्रम भएको र छुटेका वडाहरुमा तत्काल जेष्ठ नागरिक खेलकुद कार्यक्रम आयोजना गर्ने, नगरपालिका भित्र रहेका बिद्यालयहरूमा शिक्षाको गुणस्तर बृद्धि गर्न स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अविभावकहरू संवेदनशिल बन्दै अपनत्व लिने शैक्षिक सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिने, पालिकाको सबै क्षेत्रको समान विकासका लागि आवश्यक्ताको आधारमा प्राथामिकिकरण गरी क्रमागत रूपमा विकास गर्दै जाने, त्रिभुवन जनता माविमा विज्ञान प्रयोगशाला सञ्चालनका लागि आवश्यक पहल गर्ने, आर्थिक अबस्था कमजोर भएका बिदार्थीहरुको पढाई ब्यवस्थापनमा सहयोग गर्न बिशेष योजना बनाई आबश्यक कार्य गर्ने लगायतका रहेका छन ।

बास नेपालका निबर्तमान अध्यक्ष लुना बुढाथोकीले स्वागत तथा कार्यक्रमाको उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकास देवकोटाले वर्षभरी सम्पन्न गरेका कार्यक्रम तथा योजनाको प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले नागरिक प्रतिबेदन र बर्हिगमन अभिमत प्रस्तुत गरेका थिए ।

 

  • २६ असार २०८२, बिहीबार प्रकाशित

  • Nabintech