नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न बुधबार पार्टी कार्यालयमा पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेपछि सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको जानकारी दिए ।
गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको एमालेको ठहर छ । महासचिब पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउने भन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताए । पूर्वराष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने पोखरेलको भनाइ छ ।
पत्रकार सम्मेलनमा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बैठकका निर्णयबारे जानकारी गराउदै मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता, विधान महाधिवेशनलगायत समसामयिक विषयमा आठ बुँदे प्रस्ताव पारित गरेको बताए ।









