देशभर सञ्चालित कपडा बैंक र बास नेपालबीच सहकार्य

कोही पनि नाङ्गो नरहोस्’ अभियानमा बास नेपालको साथ

असल शासन प्रतिनिधि

नेपालगञ्ज / ‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मुख्य उद्देश्यसहित सञ्चालन हुँदै आएको कपडा बैंकको मानवीय महाअभियानमा अबदेखि बास नेपाल पनि साझेदार बन्ने भएको छ । आज काठमाडौंमा कपडा बैंकका अध्यक्ष र बास नेपालका निर्देशकबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अबदेखि बास नेपाल पुगेका प्रत्येक स्थानमा कपडा बैंक पनि पुग्ने लक्ष्यसहित सहकार्य सुरु गरिएको हो । कपडा बैंक हाल देशभर १६६ स्थानमा सक्रिय रुपमा सञ्चालन भइरहेको छ र यस अभियानबाट आवश्यक पर्ने नागरिकहरूलाई न्यानो माया सहित निःशुल्क लत्ता कपडा वितरण गर्दै आइरहेको छ ।

पछिल्लो एक वर्षको अवधिमा करिब १ लाखभन्दा बढी व्यक्तिहरूलाई कपडा वितरण गरिएको र लाखौंलाई पुग्नेगरी कपडा संचित गरिएको कपडा बैंकले जनाएको छ ।

बास नेपाल र कपडा बैंकको यो सहकार्यले आगामी दिनहरूमा अझ धेरै असहाय, विपन्न तथा दूरदराजमा रहेका मानिसहरूका अनुहारमा खुसी ल्याउने विश्वास गरिएको छ ।

अन्त्यमा, दुबै संस्था समाज परिवर्तनको साझा यात्रामा संगै अघि बढ्ने प्रतिबद्धतासहित अगाडि बढेका छन् ।
#कोहीपनि नाङ्गो नरहोस्

  • ८ श्रावण २०८२, बिहीबार प्रकाशित

  • Nabintech